स्याङ्जाको सुन्तला चीन निर्यात गर्न चासो

निर्भिक नारायण, स्याङ्गजा पौष,१४

स्याङ्जाको सुन्तला चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्नका स्थानीय सरोकारवालाहरु सँग छलफल गरिएको छ ।  कृषि ज्ञानकेन्द्र स्याङ्जाको आयोजनामा सुन्तला सुपरजोन स्याङ्जाको कार्यक्षेत्रभित्रका र संभावित क्षेत्रका नगरपालिका, गाउँपालिकाका प्रमुख एवं सम्बन्धित वडा अध्यक्षहरुसँग सुन्तलाको गुणस्तरका विषयमा छलफल गरिएको हो ।

 स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीनको तिब्बत निर्यात गर्ने यसअघि नै सम्झौता भएपनि विविध कारणबश कार्यान्वयन हुन सकेको छैन ।  सम्झौता कार्यान्वयनमा केही अप्ठ्यारो रहेकाले सुन्तला निर्यातमा समस्या देखिएकाले चीनका राष्ट्रपति नेपाल भ्रमण आउँदा अप्ठ्यारा बूँदाहरु परिमार्जन गरेर पुन ः सम्झौता भएको थियो ।

 चीन सुन्तला निर्यात गर्ने सम्बन्धमा चिनिया पक्षले केही शर्तहरु राखेको र ती शर्तहरुलाई पूरा गरेपछि मात्रै स्याङ्जाको सुन्तला निर्यात हुने अवस्था आउने भएकाले सुन्तलामा लाग्ने रोग किरा तथा गुणस्तरमा ध्यान दिनु जरुरी रहेको कार्यक्रममा जानकारी गराईएको थियो । 

“चिनियाँ पक्षले पाँच वटा किरा तथा दुई वटा रोग फ्रि हुनुपर्ने शर्त राखेको हुदाँ चिनियाँ पक्षले राखेको शर्त पूरा गरेपछिमात्रै यहाँको सुन्तला चीन निर्यात हुने भएकाले स्थानीय पालिकाहरुसँग सहयोग तथा प्रतिबद्धताका लागि ज्ञान केन्दे्रले छलफल गरेको हो ।

सुन्तलामा देखिने ग्रिनिङ तथा अन्य रोग किरा नियन्त्रण, गुणस्तरीय बेर्नाहरु लगाउने, सुन्तलामा देखिएका रोग तथा किरा नियन्त्रणका लागि अहिले भएका कतिपय बोटहरु हटाएर नयाँ लगाउनुपर्ने भएकाले पनि यो कार्यक्रम लागू भएका ठाउँहरुमा स्थानीय सरकारले आर्थिक तथा अन्य आवश्यक सहयोग गर्नुपर्ने भएकाले सम्बन्धित पालिकाहरुसँग छलफल गरिएको कार्यालय कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारीले  बताएका छन् ।

कार्यक्रममा सुन्तलाको क्षेत्रफल  बढ्दै जाने तर उत्पादन  घट्दै जाने स्थिति आएको र  उत्पादन भएका सुन्तलाको गुणस्तर कायम गर्नका लागि अपनाउन सकिने उपायहरुकाबारेमा सरोकारवालाहरुलाई जानकारी ज्ञान केन्द्रले गराएको छ ।

सुन्तलाको गुणस्तर कायम राख्न र उत्पादनमा बृद्धि गर्नका लागि सहयोग गर्न परेमा स्थानीय सरकरले तयार रहेको पुतलिबजार नगरपालिकाका नगर प्रमुख सिमा क्षेत्रीले बताइन्  ।  छलफलमा सहभागी पालिका प्रमुख तथा सम्बन्धित वडा अध्यक्षहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता सहित ब्यक्त गरेका छन् ।

Facebook Comments