शहर आसपासका सिमसार क्षेत्रमा खोले सागको व्यवसायिक खेति

स्याङ्गजा,
सिमसार क्षेत्र वा सोतो परेको पानी जम्ने खेत —बगरमा पाइने एक प्रकारको साग उपभोक्ताहरुको बजारमा निकै माग हुदै आएको छ । खोलाखेतमा पाइने हुनाले रैथानेहरु यसलाई खोले साग भन्दछन् भने कतिपय सिमसार क्षेत्रको सागका रुपमा सिमे साग भन्ने गरेको पाइन्छ । उच्च हिमाली बस्तीका सिम तथा बेसी र मैदानी सिम क्षेत्रमा पाइने खोले साग पोषिलो सागका रुपमा चिनीए पछि शहरी उपभोक्ताहरुमा निकै लोकप्रिय हुदै गएको छ ।

विगत एक महिनाको पोखरा बजारको तरकारी मुल्य सूची विवेचना गर्ने हो भने रायो र चम्सुर सागको मुल्य भन्दा खोले सागको मुल्य जहिले पनि बढी नै हुँदै आएको छ । पोखरा शहरमा उच्च बजार मुल्य पाइने खोले साग आपुर्ति व्यवस्थापन गर्नका लागि संकलकहरुले सिमसार क्षेत्रबाट संकलन गरेर ल्याएको प्राङ्गारिक र प्राकृतिक हुने सम्भावनाले उपभोक्ताहरु बढी मुल्य तिरेर भएपनि लैजाने चाल पाएपछि कतिपय व्यवसायिहरुले छिमेकी जिल्लामा जग्गा भाडामा लिएर भएपनि खोलेसागको व्यसायिक खेति गर्नथालेका छन् ।

पोखराको उपभोक्ता बजारका लागि लक्षीत गर्दै स्याङ्गजाका व्यवसायिक महिलाहरुले छिमेकीको सिमखेत भाडामा लिएर खोलेसागको व्यवसायिक खेति थालेका छन् । वार्षिक ५० हजार रुपैया भाडा तिर्ने गरि स्याङ्गजा बजारकी अनिता गुरुङ्ग र उनकी साथी मिलेर भाडाको जग्गामा व्यवसायिक खोलेसाग खेती गर्दै आएका छन् । उनिहरुले लकडाउनका बेला कारोवार गर्न नपाई घाटा व्योहोरेको र हाल मंसीर पछि खुल्ला भएको बजारमा राम्रो कारोवार हुन थालेको बताए ।
प्रति मुठा ५० रुपैयामा संकलन गरिएको साग पोखराको थोक बजारमा ल्याएर विक्रि गर्ने विचौलियाहरुले चार भाग लगाएर प्रति मुठा ५० रुपैयामा थोक कारोवार गर्दै आएका छन् ।

धान रोपे जस्तै खोलेसागको रोपाइ गरिएको बताउने दुइ महिलाको उद्यमबाट अन्य चार जना महिलाहरुले पोखरामा थोक बजारिकरणमा पहुँच पुर्याउन रोजगार पाएका छन् । प्राय हरेक महिना टिप्न सकिने सागले बैकल्पीक रोजगार र बैकल्पीक खाद्य श्रोतको विकास गरिरहेको छ ।

Facebook Comments