शहरी योजनाका लागि कृषि बजार सूचना बैकको खाँचो


आरसी टाइम्स व्युरो
पोखरा, फाल्गुण १७

पोखरा महानगरका रैथाने जनसंख्या र पर्यटकीय पाहँुनाको भोजन व्यवस्थापन ढाँचामा स्थानीय कृषि उपज उत्पादनको योगदान कति होला भन्ने आँकलन गर्न नसकिएकाले शहरको आवधिक योजनामा कृषि वासलातको चुनौति र अवसरको प्रक्षेपण गर्न कठिनाइ भइरहेको सरोकारवालाहरुले बताएका छन् ।


आगामी आवधिक योजनाका लागि सहभागीतामुलक तथ्यांकमा आधारित शहरी कृषि योजना तर्जुमाका लागि कृषिउपज उत्पादन र बजार पहुँच तथा उपभोक्ताहरुमा हुने खपतको आँकडा सर्भेक्षण हुन नसकेको तथा माग र आपुर्ति सन्तुलनका कारक तत्व र चुनौतिको पहिचान हुन नसकेका कारण कृषि विकास योजना र क्रियाकलाप लक्षीत गर्न नसकिएको महानगरपालिकाले जनाएको छ ।


पोखरा शहरमा दैनीक खपत हुने कृषि वस्तुहरुको प्रविृत्तिगत विश्लेषण गर्दै माग र आपुर्तिको नक्सांकन गर्न सुदृढ नेपाल शहरी उत्थानशिलता परियोजनाले गरेको सर्भे अध्ययन प्रतिवदनको मस्यौदा उपर पृष्ठपोषण कार्यक्रममा सहभागीहरुले शहरी कृषि बजार सूचनाको विधागत सूचना बैंकको खाँचो औल्याएका हुन् ।


अध्ययन टोलीका तर्फबाट होमनाथ गैरेले पोखरामा दैनिक कारोवारमा जोडिएका तरकारी, फलफुल, दुध, मासु—अण्डा र माछाको बजार प्रवृत्ति विश्लेषणका लागि संस्थागत तथा संगठित बजारका सूचनाका आधारमा गरिएको विश्लेषण प्रस्तुत गरेका थिए ।


महानगरको कृषिमहाशाखा प्रमुख मनहर कडरीयाले तरकारी बजारको खपतमा कौशी खेतिको उपजको नदेखिएको आँकडाले बजारमा केही आयात घटाएको र टनेल घरमा उत्पादीत गोलभेडाले बजारको मागको करोडौ रुपैया विदेशिनबाट जोगाएको दावी गरे ।


यसैगरि कृषि कर्जा प्रबाहमा पोखराका २८ वटा वैंक तथा वित्तीयसंस्थाले २ अरव २५ करोड लगानी गरेको देखिएको पनि कडरीयाले बताए । तर कृषि विमाका सवालमा कति लगानी परिचालन भयो र किसानको विमा सुरक्षणमा राज्यको लगानीको उपादेयता कस्तो भइरहेको छ भन्ने सबालमा अध्ययन गर्नु खाँचो रहेको पनि कडरीयाले औल्याए ।


महानगरमा हिजो आयोजित एक छलफलमा अध्ययन टोलीको मस्यौदाउपर कृषि उत्पादनमा अगुवाइ गर्दै आएका तरकारी उत्पादक र कृषि विशेषज्ञहरुले फरक मत राख्दै सानाकिसान बजार र खुद्रा बजार सूचनाको अभावमा बजार सूचनाको विश्लेषण अपुरो हुने बताए । यसरी टिप्पणी गर्नेहरुमा कृषि विशेषज्ञ बेनी बस्नेत, व्यवसायिक कृषक चित्रनाथ पौडेल, कृषि बजार समितिका अगुवा कमल पौडेल, कृषि विकास निर्देशनालयका प्रमुख बासुदेव रेग्मी लगायतले बजारमा कृषि माग आपुर्ति सन्तुलनको वासलातका बारेमा बस्तुगत सूचनाको सघन सर्भेक्षण जरुरी रहेको बताए ।
महानगरको आगामी योजनामा अध्ययनको नतिजाले रणनितिक योगदान दिने भएकाले महानगरले बजार प्रवृत्ति अध्ययनमा चासो राखेको महानगरका प्रमुख प्रसाशकिय अधिकृत महेश बरालले बताए । महानगरीय योजनामा कृषि बजार सुचनाको सघन गणना गर्न नसकिए पनि यो प्रयासलाई सकारात्मक रुपमा लिनु पर्ने महानगर प्रमुख मानबहादुर जीसीले बताए ।
अध्ययन टोलीले सुविधामा आधारित नमुना संकलन गरि कृषि व्यवसायी, उत्पादक र संस्थागत क्षेत्रका १९६ जना उत्तरदाताको सूचनाका आधारमा बजार प्रवृत्ति विश्लेषण गरेका थिए ।

Facebook Comments