व्यवसायिक तरकारी बाली प्रवर्धन गर्दै जीविकोपार्जन सुधारका लागि कृषि परियोजना

पोखरा, माघ ५
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र पोखरा महानगरपालिकाको समन्वयमा असल छिमेकी सहयोग संघ (गोनेसा—नेपाल) ले २०७७ साल साउन महिना देखि कोभिड – १९ प्रतिकार्यका लागि सामाजिक —आर्थिक पुनर्उत्थान परियोजना सञ्चालन गरिरहेको छ  ।

युएनडीपी र पोखरा महानगरपालिकाको आर्थिक साझेदारीमा असल छिमेकी सहयोग संघ (गोनेसा—नेपाल) द्वारा संचालन परियोजना अन्तर्गत जीविकोपार्जन सुधारको लागि कृषि परियोजना अन्तर्गत महानगरपालिकाका विभिन्न वडालाई लक्षित गरेर तरकारी बाली प्रवर्धन कार्यक्रम संचालन गरिएको छ ।

परियोजना अन्तर्गत महानगरपालिकाका वडा न. १८, १९, २५, २८ र ३० मा तरकारी बाली प्रवर्धन कार्यक्रम संचालन गरिएको हो । यस कार्यक्रम अन्तर्गत विषेशगरि दलित, विपन्न, पिछडिएका महिलावर्गलाई लक्षित गरि व्यवसायिक तरकारी खेति तालिम तथा प्राविधिक सहयोग, उन्नत बिउ बिजनको उपलब्धता, साना कृषि प्रविधि एवं महिलामैत्री कृषि औजारको वितरण लगायतका क्रियाकलाप गर्दै आएको जानकारी परियोजनाका फिल्ड अधिकृत अनिल बाँस्तोलाले जानकारी दिएका छन् ।

कार्यक्रम अन्तर्गत काक्रो, घिरौला, करेला, लौका, गोलभेडा, खुर्सानी लगायतका बालीहरुको बिउ, त्यसलाई तयार पार्न नर्सरी व्यवस्थापन, कृषक तालिम लगायतका क्रियाकलाप संचालन भइरहेका छन् । व्यवसायिक तरकारी खेति प्रति दलित समुदायका गृहिणी महिलाको आयआर्जनको क्षमता वृद्धि गर्ने र परिवारको वैकल्पिक आयआर्जनको श्रोतको रुपमा यसलाई विस्तार गर्ने योजना यस कार्यक्रमले लिएको छ ।


कोरोना भाइरसको महामारीको वर्तमान परिस्थितिमा समाजका विपन्न एवं पिछडिएको वर्गलाई सामाजिक(आर्थिक रुपमा पलायन हुन नदिने मुख्य उदेश्यले संचालन गरिएको यस परियोजनाले तरकारी बाली प्रवर्धन कार्यक्रमलाई महानगरपालिकाका अन्य वडामा पनि विस्तार गर्दै जाने फिल्ड अधिकृत बाँस्तोलाले जानकारी दिए ।

Facebook Comments