लेकाली क्षेत्रहरुमा अलैंची टिप्न शुरु

सिर्जना अधिकारी (लमजुङ)
लमजुङका लेकाली क्षेत्रहरुमा अलैंची टिप्न शुरु भएको छ । भदौ महिना लागेसँगै अलैची कटनीको समय भएकोले व्यवसायीक किसानहरुले अलैंची टिप्न थालेका हुन् । सातसय देखि १२ सय मिटर उचाई सम्मको जमिनमा लगाइएको अलैची भदौको पहिलो साताबाट टिप्न शुरु गरिएको हो । उचाई अनुसार फरक फरक समयमा अलैची पाक्ने हुँदा सो भन्दा माथिल्लो क्षेत्रमा लगाईएको अलैची असोज लागेपछि मात्रै टिप्न शुरु गरीने अलैची व्यवसायी महासँघ लमजुङका अध्यक्ष अजय तामाङले व्युरोलाई बताएका छन् ।
अलैची पाकेपछि किसानहरु टिप्न, छोडाउन र सुकाउन व्यस्त भएका छन् । दिनभरी टिप्ने, राती छोडाउने र फेरी भट्टीमा सुकाउनु पर्ने हुँदा अलैची किसानहरु व्यस्त छन् । भदौबाट शुरुभएको अलैची कटनी माथिल्लो भेगसम्म पुग्दा कार्तिक लाग्ने अध्यक्ष तामाङको भनाई छ । अलैची टिप्ने सिजन भएकोले शहर झरेकाहरु पनि गाउँ तर्फ लागेका छन् । विशेषगरी यो बर्ष कोभिड–१९ को प्रभावसँगै जारी लकडाउनका कारण पनि शहर बजारमा बस्नेहरु गाउँ फर्किएर कृषि कर्ममा व्यस्त भएका छन् । व्यवसायिक रुपमा अलैचि खेती गरेका जिल्लाका कृषकहरु चाडपर्व मनाउन छोडेर पनि अलैची टिप्ने र सुकाउने कार्यमा खट्ने गर्दछन् ।
जिल्लाका अधिकाँश अलैची कृषकहरुले टिपेर र सुकाई राखेको अलैची केहि महिनापछि ग्रेडिङ गरी विक्री गर्ने गरेका छन् । सुकाएर मात्रैपनि विक्री गर्न सकिने अलैची ग्रेडिङपछि बढि मुल्य पाईने भएकोले कृषकहरुले बढि मिहेनत गर्ने गरेका छन् । अलैची कृषकहरुले सुकाईसकेको अलैचीलाई पुच्छर काटी सफा र गुणस्तरको छुट्याउदै विक्री गर्ने गरेको अध्यक्ष तामाङले बताए ।
लमजुङको १२ सय मिटर भन्दा माथिल्लो भागमा व्यवसायीक अलैची खेती हुने गरेको छ । जिल्लामा २० हजार भन्दा बढि कृषकहरुले अलैची खेतीबाट प्रत्यक्ष फाइदा लिइरहेको महासँघले जनाएको छ । जिल्लामा करिव १५ सय हेक्टर क्षेत्रफलमा व्यवसायीक अलैची खेती हुँदै आएको महासँघले जनाएको छ ।
जिल्लामा प्रत्येक वर्ष २० टन भन्दा बढि अलैंची उत्पादन हुँदै आएकोमा यसवर्ष अलैची उत्पादन बढ्ने अनुमान छ । अलैची खेती विस्तार भएसँगै उत्पादन पनि बढ्ने अनुमान गरिएको हो । गत वर्षको तुलनामा यसवर्ष पाँच टन अलैची उत्पादन बढेर २५ टन अलैची उत्पादन हुने महासँघको विश्वास छ ।
जिल्लामा अलैंची बिक्रीबाट किसानले १० करोड भन्दा बढि रुपैयाँ आम्दानी गर्दै आएका छन् । प्रत्येक वर्ष अलैची उत्पादन बढ्दो तर मुल्यमा भने गिरावट आएपछि वर्षौदेखि व्यवसायिक अलैची खेती गर्दै आएका कृषकहरुले चिन्ता व्यक्त गरेका छन् ।
विदेश त्यागेर व्यवसायिक अलैची खेती गर्दै आएका किसानहरु प्रत्येक वर्ष मुल्य घट्दै जाँदा मर्का पर्नुको साथै उत्साह पनि मर्दै गएको छ । अलैचीको उचित मुल्य निर्धारणका लागि सरकार वा सरोकारवालाहरुले विशेष चासो दिनुपर्ने उनिहरुको माग छ ।
अलैंची खेतीको प्रवद्र्धनका लागि महासँघले जिल्लाका विभिन्न सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्दै आएको छ । कृषकहरुलाई उत्पे्ररणा दिन यस्ता कार्यक्रम गर्नुका साथै सरोकारवाला निकायको ध्यानाकर्षणका लागि पनि पहल भईरहेको अलैची व्यवसायी महासँघ लमजुङले जनाएको छ ।
जिल्लाको भुलभुले सहित बाँझाखेत, घनपोखरा, खुदी, गांैडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँ लगायतका गाउँ पाखाहरुमा किसानहरुले व्यवसायिक अलैची खेती लगाएका छन् ।

Facebook Comments