लमजुङ र मनाङका लागि नमूना फार्म अनुदानका लागि छनौट

सिर्जना अधिकारी /आरसी टाइम्स , लम्जुङ्ग,

लमजुङ र मनाङका ४५ नमूना फार्म अनुदानका लागि छनौट भएका छन् । गण्डकी प्रदेश सरकार अन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत दुई जिल्लाका पशुपक्षी तथा माछापालन सम्वन्धी ४५ वटा नमूना फार्म अनुदानका निम्ती छनौट भएका हुन् ।
आर्थिक वर्ष २०७६÷७७ का लागि प्रदेश सरकार भुमि व्यवस्था तथा कृषी सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट विनियोजित बजेट वितरणका लागि प्रक्रिया पुर्याएर नमूना फार्म छनौट गरीएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।
कार्यालयका अनुसार मन्त्रालयको निर्देशिका २०७५ तथा दोश्रो संसोधन २०७६ को दफा ८ को उपदफा १ नुसार मुल्याँकन समिति गठन गरी सोहि समितिले स्थलगत अनुगमन गरी सिफारिस गरेको आधारमा नमूना फार्म छनौट भएका हुन् । छनौट समितिले ४५ बाहेक पाँच वटा नमूना फार्मलाई बैकल्पीक रुपमा पनि छनौट गरेको कार्यालय प्रमूख डा. रुपेश श्रेष्ठले बताए ।
कार्यालयका अनुसार अनुदानका लागि ४१ वटा फार्म लमजुङका रहेका छन् भने हिमाली जिल्ला मनाङका चारवटा मात्रै छनौटमा परेका छन् ।
सो बाहेक बैकल्पीक छनौटमा पर्ने फार्महरु सवै लमजुङका रहेका छन् ।
नमूना फार्म अनुदानको निम्ती प्रदेश मन्त्रालयबाट एक करोड २० लाख रुपैया विनियोजन भएको थियो । छनौट समितिले कृषकहरुको क्षमताको आधारमा दुईलाख ५० हजार देखि सात लाख सम्म अनुदानको व्यवस्था गरेको कार्यालय प्रमूख श्रेष्ठको भनाई छ । अनुदान पाउने कृषकहरुले सरकारवाट प्राप्त अनुदान बरावर आँफुले पनि लगानी गर्नुपर्ने प्रावधान रहेको कार्यालय प्रमूख श्रेष्ठको भनाई छ ।

छनौट समितिले गाईभैसी पालन सम्वन्धी उत्कृष्ट फार्मका लागी सात लाख रुपैया अनुदान दिने जनाएको छ । यस्तै बंगुरु फाम र बाख्रा फार्मलाई चार लाख अनुदान दिने जनाएको छ भने अन्य सवै फार्महरुको लागि दुईलाख ५० हजार दिने जनाएको छ । अनुदानबाट प्राप्त रकममा सोहि बरावर आँफुले लगानी गरी पुर्वाधार र संरचना निर्माणमा खर्च गर्नुपर्ने कार्यालयले जनाएको छ ।

छनौट भएका फार्महरुमा तरकारी उत्पादन, फलफुल उत्पादन, दुग्ध उत्पादन, भेडा तथा बाख्रा पालन, बंगुर पालन तथा पाडा पालन, कुखुरा पालन र माछा पालन सम्वन्धी फार्महरु रहेका छन् ।
छनौट समितिले प्रकाशित गरेको नतिजा अनुसार जिल्लामा सवैभन्दा धेरै राईनास नगरपालिकाका कृषी फार्मले अनुदान पाएका छन् । राईनास नगरपालिकामा मात्रै नौ वटा फार्म अनुदानको निम्ती छनौट भएको कार्यालयले जनाएको छ । सो बाहेक जिल्लामा सुन्दरवजार र बेसीशहर नगरपालिकामा एक/एक वटा बैकल्पीक सहित नौ÷नौ वटा फार्म छनौट भएका छन् ।

यस्तै मध्य— नेपाल नगरपालिकामा चार, दोर्दी गाउँपालिकामा एक
बैकल्पीक सहित चार, दुधपोखरी गाउँपालिकामा तिन, मस्र्याङदी गाउँपालिकामा तिन, क्होलासोँथार गाउँपालिकामा दुई बैकल्पीक सहित पाँचवटा फार्म दर्ता भएका छन् ।
मनाङमा छनौट भएका नमूना फामहरु भने तल्लो भेग नासोङ गाउँपालिकाका मात्रै
रहेका छन् । मनाङमा छनौट भएका फार्महरुमा चौरी पालन र माछा पालन सम्वन्धी फार्महरु रहेका छन् ।
छनौट भएका फार्महरुलाई नतिजा सार्वजनिक भएको मितिले १५ दिन भित्र प्रक्रिया पुर्याएर सम्झौता गर्न आग्रह गरेको छ । तोकिएको समयावधीमा सम्झौता नभए बैकल्पीक नमूना फार्मलाई अनुदान उपलब्ध गराईने कार्यालयले जनाएको छ ।

Facebook Comments