लमजुङमा अलैची उत्पादन बढ्यो

सिर्जना अधिकारी, लमजुङ्ग

लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंची उत्पादन बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा करिव ५८ प्रतिशतले अलैची उत्पादन बढेको अलैची व्यवसायी महासँघ लमजुङले जनाएको छ ।
गत वर्ष दुईहजार क्वीन्टल अलैची उत्पादन भएकोमा यसवर्ष तिनहजार पाँचसय क्वीन्टल अलैची उत्पादन भएको महासँघका अध्यक्ष अजय तामाङले बताएका छन् ।


अलैची खेती विस्तार भएसँगै उत्पादन पनि बढ्दै गएको हो । गत वर्षको तुलनामा यसवर्ष तिनसय हेक्टर बढि क्षेत्रफलमा अलैची खेती विस्तार भएको थियो । अघिल्लो वर्ष एकहजार दुईसय हेक्टर क्षेत्रफलमा व्यवसायिक अलैची खेती भएको थियो भने यसवर्ष एकहजार पाँचसय हेक्टर क्षेत्रफलमा अलैची खेती विस्तार भएको महासँघ अध्यक्ष तामाङको भनाई छ ।


जिल्लामा यसवर्ष मात्रै १८ करोड भन्दा बढि रुपैयाँको अलैची उत्पादन भएको छ । महासँघका अनसार प्रतिकिलो पाँचसय २० रुपैयाका दरले १८ करोड २० लाख रुपैया बरावरको अलैची उत्पादन भएको हो ।


महासँघका अनुसार जिल्लामा यसवर्ष सवैभन्दा धेरै अलैची मस्र्याङदी–७ छिनखोलाका स्यावा लामाले मात्रै आठसय ५० किलो अलैची उत्पादन गरेका थिए । सो बाहेक छिनखोलाकै बिरबहादुर लामाले सातसय ५० किलो उत्पादन गरेका छन् भने मस्र्याङदी–७, लुदीका बेलबहादुर तामाङ र बेसीशहर–१० खाँचेका गमबहादुर तामाङले ६÷६ सय किलो अलैची उत्पादन गरेका छन् ।


प्रत्येक वर्ष अलैची उत्पादन बढ्दो तर मुल्यमा भने गिरावट आएपछि वर्षौदेखि व्यवसायिक अलैची खेती गर्दै आएका कृषकहरुले चिन्ता व्यक्त गरेका छन् । दशक अघि प्रतिकेजी २५ सय सम्म रहेको अलैचीको मुल्य यसवर्ष पाँचसय २० कायम भएको थियो । अघिल्लो वर्ष ६ सय २० रुपैया प्रतिकिलो विक्री भएको अलैची यसवर्ष मात्रै एकसय रुपैया गिरावट भएको हो ।


यसवर्ष पर्याप्त जनशक्ती हुँदा जिल्लामा अलैची खेतीमा निकै सुधार भएको मानिएको छ । कोभिड–१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण पनि शहर बजारमा बस्नेहरु गाउँ फर्किएर अलैची खेतीमा विशेष समय दिएका थिए ।


लमजुङको १२ सय मिटर भन्दा माथिल्लो भागमा व्यवसायीक अलैची खेती हुने गरेको छ । जिल्लामा २० हजार भन्दा बढि कृषकहरुले अलैची खेतीबाट प्रत्यक्ष फाइदा लिइरहेको महासँघले जनाएको छ । जिल्लामा उत्पादित अधिकाँश अलैची विक्री भईसकेको पनि महासँघले जनाएको छ ।


विदेश त्यागेर व्यवसायिक अलैची खेती गर्दै आएका किसानहरु प्रत्येक वर्ष मुल्य घट्दै जाँदा मर्का पर्नुको साथै उत्साह पनि मर्दै गएको छ । अलैचीको उचित मुल्य निर्धारणका लागि सरकार वा सरोकारवालाहरुले विशेष चासो दिनुपर्ने उनिहरुको माग छ ।

Facebook Comments