महाशिलाका कृषकहरुलाई तरकारी बिउ वितरण

लक्ष्मण बिसि,महाशिला,पर्वत

पर्वतको महाशिला गाउँपालिकाका कृषकहरुलाई विभिन्न किसिमका तरकारीको बिउ वितरण गरिएको छ । मौसम अनुसारको तरकारीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउदै कृषकहरुलाई व्यवसायीक बनाउने उदेश्यले पालिकाका विभिन्न वार्डहरुमा तरकारीको बिउ वितरण गरिएको हो ।

वार्डको बजेटबाट “घर बगैंचा“ कार्यक्रम संचालन गरि करिब १ लाखको लागतमा आफ्नो वार्डका सबै किसानहरुलाई निशुल्क रुपमा रायो,मार्फ, मुला, गाजर धनिया, सिमि काक्रो लागतको तरकारी बिउ वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वार्ड नं. ५ लुंखुदेउरालीका वार्ड अध्यक्ष जीवन उचैले जानकारी दिएका छन् ।

गाउँपालिकाले संचालन गरेको “एक घर एक टनेल ” कार्यक्रम प्रभावकारी बन्दै गएको बताउदै कृषकहरुले विभिन्न किसिमका तरकारी उत्पादन गरि व्यवसायी बनेको उचैले बताए । उनले भने “ हामिले पालिकाका भरिका प्रत्येक घर परिवारलाई टनेल वितरण र्गयौं, किसानहरुले पनि टनेलको सहि सदुपयोग गर्नुभएको छ, हरेकको टनेलभरि विभिन्न किसिमका तरकारी फलेका छन्” । वार्ड नं ५ मा करिब ४५ जना कृषकहरुले व्यावसायिक रुपमा तरकारी खेती गरि मनग्ये आम्दानी गरेको बताउदै कृषकहरुको उत्पादनमा सहजता ल्याउनको लागि गाउँपालिका तथा वार्डले अनुदान तथा प्राबिधिक सहयोग प्रदान गर्दै आएको उनको भनाइ छ ।

वार्डका ११ टोलमा १ टोल १ नर्सरी स्थापना गरि ५० प्रतिशत छुटमा कृषकहरुलाई काउली बन्दा लगाएतका तरकारीका बिरुवा वितरण गरिएको उनले बताए । प्रदेश सरकार तथा गाउँपालिकाको सहयोगमा वार्डमा नमुना कृषि पकेट विकास कार्यक्रम समेत संचालन गरिएको वार्ड अध्यक्ष उचैले बताए ।

त्यस्तै वार्ड नं. ६ फलामखानीका कृषकहरुलाई पनि तरकारीको बीउ वितरण गरिएको वार्ड सदस्य मन बहादुर सुनारले जानकारी दिएका छन् । वार्डको करिब ५० हजारको लागतमा वार्डका सबै घरधुरीलाई निशुल्क रुपमा रायो,मार्फ, मुला, गाजर धनिया, सिमि काक्रो करेला लगाएतका तरकारी बिउ वितरण गरिएको सुनारले बताए । वार्डले निशुल्क तरकारीको बिउ दिएपछि कृषकहरु खुशी भएका छ्न ।

वार्डले निशुल्क बिउ दिएको प्रति खुसी व्यक्त गर्दै आफुले लिएको बिउ राम्रोसंग लगाएर धेरै भन्दा धेरै तरकारी उत्पादनमा जोड दिने फलामखानीका स्थानीय कृषक अशोक गुरुङले बताए ।

Facebook Comments