मकरान्न कन्दमूल र भोजन संस्कृति अनुसन्धान

कुलराज चालिसे, सचिन गिरि

गङ्गा र सागरको संगम भएको दिन माघे सक्रान्तिमा भगिरथ ऋषिले पीतृ उद्धार गरेका थिए । त्यसैले गङ्गासागर कपिलाश्रमलाई महासंगम मानेर यस दिन साख्यदर्शनका प्रवद्र्धक कपिलावतार भगवान विष्णुको पूजा आराधना गरिन्छ । पौष र माघको संगम, हेमन्त र शिशिरको संगम, दक्षिणायन र उत्तरायनको संगम अनि धनु र मकर राशिको संगम गरी चार संक्रान्तिको योग पारेर यो दिन श्री सूर्यनारायणको पूजा आराधना गरी गङ्गाजलले अर्घ दिईन्छ । त्यसैले भारतवर्षको ठूलो सूर्यमन्दिर त्यसै क्षेत्रमा स्थापना गरीएको छ । ईच्छामरणको वरदान पाएका देवव्रत्त भिष्मले देहत्याग गर्न यसै दिन राजेका थिए । यो दिन गङ्गासागरको तीर्थसेवन गर्ने पर्व हो तर अन्य तीर्थ बारम्बार गङ्गासागर एकबार भन्ने मान्यतामा त्याहा सधै गईदैन । त्यस्को विकल्पमा यस दिन चोखोपानीको उद्गम भएको स्थान तथा नदीसागर संगममा स्नान गरेर चोखोपानीले सूर्यलाई अर्घ दिईन्छ ।

कास्कीको सिकलेसमा यसै दिन मात्र प्रकट हुने कुवामा गुरुङ्ग समुदायले विशेष पूजा आराधना गरेर मन्त्र साधना गर्छन् । पोखरा उपत्यकामा लुप्त भएकी शुक्लागण्डकी सीतापाईलामा प्रकट भएकीले पोखरा महानगर पालिका वडा नं. १७ स्थित ढुङ्गेसागुलाई पनि नदीको उद्गम मानेर यस दिन विशेष स्नान, दान, पूजा पाठ गरिन्छ । हरि (जलतत्व) र हर (अग्नितत्व) को संगम हरिहरको मन्दिर यसै स्थानमा स्थापना हुनुको साथमा भगवती सीताले यसै घाटमा स्नान गरेर पदचिन्ह छोड्नुले यस क्षेत्रको प्राचिनता प्रदर्शन गर्छ । यो मन्दिरलाई पोखराको सवैभन्दा पुरानो मन्दिर मानिन्छ । स्वयंप्रकट ढुङ्गाको प्राकृतिक पुल यसै स्थानमा भएकोले पनि यसलाई पोखराको सवैभन्दा पुरानो मन्दिर मान्न प्रमाण भएको मानिन्छ ।

सूर्य दक्षिणायन र उत्तरायणको सक्रान्ति भएकोले स्नान र दानको महत्त्व रहेको यो पर्वमा चढाईने प्रशाद पनि विशिष्ट प्रकृतिको हुन्छ । घिउ, चाकु, तिल, कन्दमूल आदी महाप्रशाद पुषको अन्तमा तयार गरेर सक्रान्तिको दिनमा चढाईन्छ । अन्य प्रशाद बासी हुने मान्यतामा ताजा बनाईन्छ भने यि प्रशादहरु ताजा चढाईदैन । विशेष गरेर कन्दमूललाई एक दिन अगाडी नै उसिनेर राख्नुको पछाडी कुन वैज्ञानिक कारण छ ? त्यस्को खोज अनुसन्धान हुदैछ । माघे सक्रान्ति जस्तै फाल्गुण कृष्णअष्टमीमा शितलादेवीलाई पनि बासी कन्दमूल चढाईन्छ । पुरी जग्गनाथमा पनि बासी कन्दमूल नै प्रशाद लगाएर वितरण गरिन्छ । कन्दमूललाई उसिनेर न्यूनतम बाह्र घण््टा राख्दा कुन कुन ईञ्जाईम सकृय भएर कन्दमूलमा भएको सुक्रोज माल्टोजमा रुपान्तरण हुन्छ भनेर अनुसन्धान गर्न आलुको भोट्का बनाउदाको प्रद्धत्ति अध्ययन गरेर अनुमान लगाउन सकिन्छ । कन्दमूल पनि आलुवर्गमा नै पर्ने भएकोले एउटै सिद्धान्त कार्यान्वयन भएको हुनुपर्छ । आलुबाट भोट्का बनाउदा जौ मिसाईन्छ भने कन्दमूलको प्रशादमा तिलको संयोजन गरिन्छ । कन्दमूल संगै तिलको लड्डु चढाउनुको रसायन युती उपर पनि अनुसन्धान आवस्यक देखिएको छ । बालाचतुर्दशीको अवसरमा शिवालय क्षेत्रमा छर्ने सत्वीजमा पनि कन्दमूलको नै प्रधानता रहने देखिएको छ भने तपोनिष्ट धर्मभिरुले प्राण धान्नको निमित्त खाने अन्नमा पनि कन्दमूल नै प्रधान मानिन्छ । कन्दमूललाई पवित्र मानेर फलाहार अन्तरगत वर्गिकृत गर्नुको पछाडी यस्को औषधिको गुण नै हो ।

यतिवेला विश्वमा उच्च रक्तचाप, मधुमेह तथा क्यान्सर जस्ता आहारजन्य संक्रमण नहुने रोगको प्रकोप बढ्दै छ । यि रोगहरु वंशाणुगत भन्दा धेरै आहार र जीवनशैलीको कारणले फैलिएका छन् । यिनको रोकथाममा पनि चिकित्सा पद्धत्ति भन्दा आहार तथा आसन सस्कृतिमा सन्तुलनको आवस्यकता महसुस भएकोले प्राकृतिक चिकित्सा विधामा कन्दमूल तथा जुसको उपयोग बढ्दै गएको छ । माघेसक्रान्तिको पर्वमा स्नान तथा कन्दमूलको स्थान प्रमुख रहनुमा प्राकृतिक चिकित्सा सिद्धान्तको योगदान रहेको सन्दर्भमा वरिष्ट प्राकृतिक चिकित्सक श्री हरिप्रशाद पोख्रेलले मकर संक्रान्तिलाई नै योग दिवश भएको वकालत गर्नु भएकोबाट अनुमान गर्न सकिन्छ । प्राकृतिक चिकित्सा विधामा “ईन्द्रेणी आहारा सिद्धान्त”लाई प्रमुख बनाईन्छ । आहाराको रङ्गले आयुर्वेदिक महत्त्व प्रदर्शन गर्छ । रङ्गिन आहाराले नै अन्तरमनमा विराजमान परमेश्वरको पूजा गर्न सकिन्छ । त्यसैले आहार सस्कृतिमा रङ्गिन कन्दमूलको विशिष्ट स्थान रहेको हुन्छ ।

जलवायु परिवर्तनको समस्याले चिन्तित विश्व समुदाय यतिवेला खाद्य सुरक्षालाई केन्द्रमा राखेर योजना बनाउदै छन् । अहिलेको बजारमा चलनचल्तीको मूलधारमा स्थापित धान, गहु, मकै, कोदोमा सिमित भएर खाद्य सुरक्षा गर्न सकिदैन । जलवायु परिवर्तनले यि अन्न उपर हालसम्म भए गरेका अनुसन्धान उपलब्धिलाई न्यूनमा परिणत गरेको छ । दाना नलाग्ने अन्न र रोगकिराको प्रकोपले यसै तर्कलाई बल दिएको छ । त्यसैले आयुर्वेदिक महत्त्व समेत भएका कन्दमूल तथा सिमान्तकृत अन्नको वंश रक्षा गरेर अनुसन्धान कार्यलाई प्राथमिकता दिन आवस्यक देखिएको छ । तर नेपालका कृषि अनुसन्धान प्रतिष्ठानहरु कन्दमूल तथा सिमान्त अन्न उपर अनुसन्धान गर्न उदासिन देखिएका छन् । कृषि मन्त्रालय अन्तरगतका अनुसन्धान प्रतिष्ठानहरु नै कन्दमूल तथा सिमान्त अन्नहरुको प्रवद्र्धन गर्न उदासिन हुन्छन् भने सरकारले पनि बजेट विनियोजन गर्न उदासिन हुनु स्वभाविक हो । सरकार तथा सरकारी प्रतिष्ठान कन्दमूल तथा सिमान्त अन्न उपर उदासिन भए भन्दैमा अन्नपूर्ण भगवती स्वरुपा श्रीसीता तथा हरिहरका उपाषकहरु निष्कृय हुन मिल्दैन ।

हरिहर मन्दिर व्यवस्थापन समितिको लक्ष कन्दमूलको वंश संकलन गरेर प्रदर्शन गर्नुमा सिमित छैन । पुरानो मन्दिरको दायित्व पनि वहन हुन आवस्यक छ । मकर संक्रान्तिमा सीताघाटमा स्नान, हरिहर दर्शन र कन्दमूल प्रशादीको वैज्ञानिक पक्ष जनसमक्ष उजागर गरेर परम्परागत खाद्य सस्कृतिको महत्त्व स्थापित गर्नु पनि मन्दिर व्यवस्थापन समितिको कर्तव्य हो । कन्दमूलको आयुर्वेदिक तथा पोषण मूल्य सन्दर्भमा धेरै अनुसन्धान प्रतिवेदनहरु प्रकाशित भएका छन् । यसको विकास र प्रसारका लागि कन्दमूल सूचना केन्द्रको स्थापना गरेर कार्यशाला गोष्ठी, सेमिनार, तालिम तथा अनुसन्धानलाई निरन्तरता दिन आवस्यक देखिएको छ । कन्दमूललाई पर्यटकीय बजारमा स्थापित गर्न भाञ्छाकलाको अनुसन्धानमा पनि कन्दमूललाई समायोजन गर्न आवस्यक छ । यस्तो अनुसन्धानलाई ग्रामिण पर्यटनमा समायोजन गरेर सिमान्तकृत कृषकलाई पर्यटकीय लाभ पनि दिन आवस्यक छ । यो उद्देश्य प्राप्तिको निमित्त हरिहर मन्दिर व्यवस्थापन समितिले कन्दमूलको बजार प्रवद्र्धन गरेर उत्पादन प्रकृयामा अन्य मन्दिर व्यवस्थापन समितिलाई परिचालन गर्नु उपयुक्त हुने छ ।

यसै तथ्यलाई मध्यनजर राखेर सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति कन्दमूलको संरक्षण तथा प्रवद्र्धन गर्न तत्पर भयो र सुरु गरियो “कन्दमूल प्रवद्र्धन कार्यक्रम” । गतवर्ष माघेसक्रान्तिको अवसरमा प्रदर्शनीको आयोजना गरेर सुरु गरीएको यो कार्यक्रममा कास्की, तनहु, स्याङ्गजा, सिन्धुली, सर्लाही, नवलपुर तथा पर्वतबाट संकलन गरीएका २५ प्रजातीका तरुल वर्गको साथमा कृषि अनुसन्धान परिषदले उपलब्ध गराएको १५ प्रजातीका पिडालु तथा २० प्रजातीका सखरखण्ड संरक्षण गरिएको छ । पोखरा आरोग्य सेवा केन्द्र तथा खोज पाठशालाको अवधारणा तथा पोखरा महानगरको आर्थिक सहयोगमा प्रारम्भ गरीएको यो कार्यक्रमलाई मूर्तरुप दिन श्रीशंकर आचार्यको संयोजकत्वमा सात सदस्यीय कन्दमूल प्रवद्र्धन उपसमिति नै गठन गरीएको छ । उक्त उपसमितिको सकृयतामा यस वर्षको कन्दमूल प्रदर्शनी अझै विस्तारित र सूचनामूलक बनाउन प्रयास गरिने छ ।
कन्दमूलको पोषण तथा आयुर्वेदिक महत्त्व पत्ता लगाउन बाह्य प्रयोगशाला तथा खाद्य रसायनका विज्ञहरुको सहयोग लिईने छ । सरकारी कृषिनीतिको मूलप्रवाहमा कन्दमूललाई स्थापित गराउन कृषि अनुसन्धान परिषद, कृषि ज्ञान केन्द्र तथा स्थानीय सरकारहरु संग सहकार्य गरिने छ । कन्दमूलको अनुसन्धान, उत्पादन तथा बजार प्रवद्र्धनमा मन्दिर व्यवस्थापन समितिको एकल प्रयास प्रयाप्त नहुने भएकोले समितिले संयोजनकारी भूमिकाको साथमा कन्दमूलको जीन वैंकको भूमिका सम्पन्न गर्ने छ भने अनुसन्धान र उत्पादन उद्देश्यको निमित्त अन्य प्रतिष्ठानसंग सहकार्य गर्ने छ । यो कार्यक्रमले नेपाली मौलिक खाद्य सस्कृतिलाई विश्व खाद्य बजारमा स्थापित गरेर नेपालको गौरव बढाउन सहयोग गर्ने भएकोले स्थापित निजिक्षेत्रका व्यापारिक प्रतिष्ठान तथा आध्यात्मिक संघसस्थाको सकृय सहभागीताको अपेक्षा गरिएको छ । पोखराको पुरानो मन्दिर सदाशिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिको काँधमा मकर संक्रान्ति र कन्दमूलको मूल्य र मान्यता स्थापित गर्ने जिम्मेवारी आएको छ ।

Facebook Comments