बीउ उत्पादनमा सफल बन्दै लालिमा कृषि सहकारी

ज्ञानु पंगेनी, नवलपुर

नवलपुर जिल्लामा धेरै कृषि सहकारीहरु स्थापना भएका छन् । कृषि र कृषकका लागि काम गर्न भनि स्थापना भएका कतिपय कृषि सहकारीले बचत गर्ने र ऋण दिने काम बाहेक अन्य काम गर्न सकेका छैनन् । तर, जिल्लाको देवचुली–१ मा रहेको लालिमा कृषि सहकारी संस्थाले आफुलाई केहि फरक रुपमा स्थापीत गर्न सफल भएको छ । कृषि क्षेत्रको विकास र प्रबद्र्धन संगै कृषकका लागि समेत फाईदा हुने काम गरेर उदाहरणीय बन्न पुगेको छ ।
२०६८ सालमा स्थापना भएको लालिमा कृषि सहकारी संस्थाले विगत ४ वर्षदेखि देवचुली – ३ मा सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालन गरेको छ । जसले बीउ उत्पादनको क्षेत्रमा सफलता हासिल गरेको छ । २०७४ सालको वर्षे धान खेतीबाट बीउ उत्पादन सुरु गरेको संस्थाले वार्षिक रुपमा बीउ उत्पादनको परिमाण बृद्धि गर्दै गएको छ ।
नेपाल सरकार कृषि मन्त्रालय सिंचाईं तथा जलश्रोत व्यवस्थापन आयोजनासंग सम्झौता गरि नेपाल सरकारको ८० प्रतिशत र सहकारी संस्थाको २० प्रतिशत गरि दुई करोड २६ लाख रुपिँयाको लागतमा स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रले अहिले धान , मकै र गहुँको बीउ उत्पादन गर्दै आएको छ । यस वर्षदेखि तोरी र मसुरोको बीउ उत्पादन गर्ने योजना अनुसार प्रकृया अगाडि बढाईएको संस्थाका अध्यक्ष सूर्य पोखरेलले जानकारी दिए । अध्यक्ष पोखरेलका अनुसार स्थानीय बजारमा माग बढि भएका बीउहरु यहाँ उत्पादन हुँदै आएको छ । विषेशगरि तराईमा हुने जातहरु उत्पादन हुने गरेको छ । धानमा सुख्खा १ , सुख्खा २ , सुख्खा ३ र सुख्खा ४ , साबित्री , रामधान , सावा सहुवान लगायतका जात उत्पादन हुन्छ भने , मकैमा अरुण २ , र गहुँमा बीजय , गौतम , आदित्य लगायतका बीउ उत्पादन गर्ने गरेको पोखरेलले बताए ।
पहिलो वर्ष ५ सय क्वीन्टल , दोश्रो वर्ष ८ सय क्वीन्टल , तेश्रो वर्ष ११ सय क्वीन्टल बीउ यहाँ उत्पादन भएको थियो । यस वर्ष करीब २५ सय क्वीन्टल बीउ उत्पादन गर्ने लक्ष्य राखेको अध्यक्ष पोखरेलले बताउनुभयो । अहिलेसम्म यहाँबाट प्रमाणीत र उन्नत बीउ उत्पादन हुँदै आएको छ भने , आउदो वर्षबाट मूल बीउ उत्पादन गर्ने प्रकृया अघि बढेको छ । यसै वर्ष बीउबीजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवनबाट कारखाना दर्ता र मूल बीउ उत्पादन गर्ने अनुमती संस्थाले प्राप्त गरेको छ ।
संस्थाको आफ्नै १० कठ्ठा जग्गामा स्थापना गरिएको बीउ प्रशोधन तथा भण्डारण केन्द्रमा रहेको प्रशोधन मेसिन सरकारको पूर्ण अनुदानमा प्राप्त भएको हो । ९२ लाख रुपिँया लागतको उक्त प्रशोधन मेसिनले कच्चा बीउलाई प्रशोधन गरेर आकार र वजन अनुसार ग्रेडिङ्ग गर्ने काम गर्छ । भने, काम नलाग्ने अन्य वस्तुलाई छु्टयाउने , बीउमा आवश्यक विषादी मिसाउने र प्याकेजिङ्ग गर्ने काम एकै पटकमा हुन्छ ।


दुई सय मेट्रिकटन क्षमताको दुई वटा भण्डारण भवन स्थापना गरिएको छ । गत वर्ष गण्डकी प्रदेश सरकारको सहयोगमा एक सय मेट्रिकटन क्षमताको भण्डारण भवन स्थापना भएको छ ।
बीउ उत्पादनका लागि संस्था आफैँले कावासोतीको वडा न. ७ र १३ मा १० हेक्टर क्षेत्रफल जमिन लिजमा लिएको छ । जसमा संस्था आफैँले बीउका लागि खेती गर्दै आएको छ भने, देवचुली र कावासोतीका कृषकले समेत बीउ उत्पादन गरेर संस्थालाई बिक्री गर्दै आएका छन् । करीब ८० जना कृषक बीउ उत्पादनमा संलग्न रहेको पोखरेलले बताए । कृषकलाई श्रोत बीउ उपलब्ध गराउने , प्राविधिक रेखदेख सबै संस्था आफैँले गर्ने गर्छ । उत्पादन भएपछि बजार मूल्य भन्दा ८÷ १० प्रतिशत बढि मुल्य दिएर किसानसंग संस्थाले बीउ खरीद गर्ने गरेको उनले बताए ।
यहाँ उत्पादन गरिएको बीउको बजारीकरण स्थानीय एग्रोभेटमा नै बढि हुने गरेको छ । त्यसबाहेक चितवनमा पनि जान्छ । स्थानीय तहहरुले अनुदानमा उपलब्ध गराउने कार्यक्रममा समेत कोटेशन हालेर बीउ बिक्री गर्दै आएको उनले बताए ।
कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका प्रमुख गोपाल लामिछानेले लालिमा कृषि सहकारीले कृषि क्षेत्रमा राम्रो र उदाहरणीय काम गरेको बताए । प्रदेशमा नै अन्नको भण्डार भनेर चिनिने पूर्वी नवलपरासीमा यस कार्यक्रमले कृषकलाई फाईदा पुग्नुका साथै कृषि क्षेत्रको विकास र प्रबद्र्धनमा ठूलो टेवा पुगेको उहाँको भनाई छ । तर, पछिल्लो समय बढ्दै गएको अव्यवस्थीत बसोवास र प्लटिङ्गले गर्दा बीउका लागि आवश्यक पर्ने उचित जमिनको कमि हुँदै जान सक्ने चुनौती देखिएको उनले बताए ।

Facebook Comments