बिषादी रहित उत्पादनमा जोड

 लक्ष्मण वीसी/आरसी टाइम्स
फलेबास,माघ २०

बिषादी रहित स्वस्थ उत्पादनका लागि नागरिक चेतना विकास गर्ने साताव्यापी अभियान चलिरहेका बेला पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा बिषादी रहित खाद्य तथा पोषण प्रबर्द्धन गर्ने सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तहसंगको सहकार्यमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिने निति अनुसार जिल्ला स्वास्थ्य कार्यालय पर्वतको आयोजना र फलेवास नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम हालै सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रवक्ता तथा वार्ड नं. ४ मुडिकुवाका अध्यक्ष टिकाराम गौडेलले मानिसको स्वास्थ्य जिवनका लागि पोषण युक्त खानामा बिशेष जोड दिनुपर्ने बताए  । खानपिनमा ध्यान दिदै रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिन तर्फ सबै सचेत हुनुपर्ने बताए ।
सबैको स्वास्थ्य हितलाई ध्यानमा राखेर कृषकहरूले बिषादी रहित प्राङ्गारिक उन्मुख उत्पादनमा जोड दिनुपर्ने उनले बताए  । व्यवसायीक रुपमा कृषि तथा पशुपालनमा लागेका कृषकहरुलाई नगरपालिकाले अनुदान तथा सहयोग गरेको बताउदै वार्डका क्रियाशिल कृषकहरूलाई सम्मान समेत गरेको गौडेलले बताए ।


फलेवास नगरपालिकाका स्वास्थ्य अधिकृत रुद्र शर्मा सापकोटाले सिकेका कुराहरू व्यबहारमा उतार्दै अरुलाई पनि सिकाउन आग्रह गरे  । नगरपालिकाले स्वास्थ्य र पोषणको लागी विशेष कार्यक्रमहरु संचालन गरेको बताए  । गाउँघरमा उत्पादन हुने रैथाने जातका अन्नहरुले शरीरमा चाहिने सम्पुर्ण पौष्टिक तत्वहरु प्राप्त हुने भएको हुदा भरपुर मात्रामा रैथाने बालिहरु कोदो, फापार ,जौ लगाएतका बालिको संरक्षणमा जोड दिनुपर्ने बताए ।
देख्दा आकर्षक भएता पनि बिषादीयुक्त उत्पादनले मानव स्वास्थ्यमा नराम्रो असर पर्ने भएको हुदा कृषकहरुलाई बिषादी रहित शुद्ध उत्पादनमा जोड दिन आग्रह गरे ।


कार्यक्रममा बिषादी चिन्ने र प्रयोग गर्ने तरिका, बिषादी न्यूनीकरणको विकल्प, मानव स्वास्थ्यमा बिषादी असरहरु, जैविक मल बनाउने तरिका सुक्ष्म पोषण तत्व प्रदान गर्ने खानाहरु नियमित खानुपर्ने, हरेक दिन खाना अनुसार शरीरलाई शक्ति दिने वृद्धि विकास हुने र रोगसंग जोगाउने पोषण तत्व भएका खाना मिलाएर खानुपर्ने लगाएतका बिषयमा छलफल गरिएको थियो ।
कुपोषण कारण पुट्कोपन ख्याउटेपन र कम तौल हुने बताउदै पोषण र बालबालिकाको क्षेत्रमा स्थानीय सरकारले लगानी गर्नुपर्ने स्वास्थ्य कार्यालय पर्वतका गोपाल आचार्यले बताए  । कुपोषण जिवन्त चलिरहने प्रक्रिया भएको हुदा यसबाट बच्न पोषण युक्त खानेकुरामा बिशेष ध्यान पुर्याउनुपर्ने उनले बताए ।


स्वास्थ्य कार्यालय पर्वतका क्षय कुष्ठरोग अधिकृत जनार्दन गिरिले कार्यक्रमको बारेमा प्रकाश पार्दै बालबालिकाको पोषणका लागि पोकाको खाना भन्दा पकाएको खानामा जोड दिनुपर्ने बताए ।
वार्ड अध्यक्ष टिकाराम गौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा फलेवास नगरपालिकाका कृषि प्राबिधिक प्रताप पौडेलले बिषादी रहित खाद्य तथा पोषण प्रबर्द्धन सम्बन्धि सहजिकरण गरेका थिए  ।
बिषादी औषधि नभएर बीस भएको र बिषादीको प्रयोगले क्यान्सर सम्मको रोग लाग्न सक्ने भएकाले बिषादी प्रयोगमा सचेत हुनुपर्ने पौडेलले बताए  । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेवीका, शिक्षक बिद्यार्थी लगायतको सहभागीता रहेको थियो  ।

Facebook Comments