बाँदरले सताएपछि बेसार खेती गर्दै कृषकहरु

सुशीला रेग्मी, रामपुर


वस्तीमा बाँदर आतङ्कले सताएपछि विकल्पका रुपमा बेसार लगाउन थालेका छन् । बेसारलाई बाँदरले नोक्सान नगर्ने अर्कोतर्फ यसबाट कृषकले प्रयाप्त आम्दानी लिन सक्ने हुदा व्यवसायीक रुपमा बेसार लगाउन थालिएको बताइएको छ । खेतबारीमा लगाएका मकै, तरकारी, फलफुल लगायतका बालीनाली खाएर सखापै पारेपछि रामपुर नगरपालिका वडा नं ७ ले बेसार खेती लगाउन कृषकलाई सहयोग गरेको छ । वडा कार्यालयको सहयोगमा यस क्षेत्रका कृषकले अहिले व्यवासायीक रुपमा बेसार खेती सुरु गरेका छन् । मलेङ्ग, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराज टोलमा अन्नबाली बाँदरले खाएर नष्ट पारेपछि खेती लगाउन छाडेका जमिन बेसारले हराभरा बनेका छन् । गाउँमा बाँदर आतङ्क बढेपछि वडा कार्यालयले अन्नबालीको विकल्पका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्दै वीउ सहयोग गरेपछि व्यवसायमा यहाँका कृषकलाई हौसला मिलेको छ । वडाले आर्थिक वर्ष ०७५÷०७६ को रु तीन लाख वजेटबाट ३५ क्वीण्टल बेसारको वीउ कृषकलाई उपलब्ध गराएको वडा अध्यक्ष तीर्थप्रसाद पंगेनीले बताए । “बारीबाटै मकै, गहुँ, केराऊ, चना लगायतका अन्नबाली बाँदरले खाएर नष्ट पारेको गुनासो आएपछि विकल्पका रुपमा कार्यालयले जग्गा बाँझो नराख्न र कृषकले आम्दानी लिन सकिने गरी बेसार खेतीका लागी सहयोग गरेका छौँ” उनले भने । बजारको व्यवस्थापन पनि वडा कार्यालयले गरिदिने बताउँदै कृषकले बेसार उत्पादन बृद्धि गर्न उनको अनुरोध छ ।


मकै उत्पादन हुने दश रोपनी बारीमा बाँदरको समस्याले खेती लगाउन छाडेकी शान्ती विकले अहिले साढे दुई रोपनी क्षेत्रफलमा बेसार लगाउन सुरु गरेकी छन् । वडा कार्यालयले बेसार खेतीमा सहयोग गरेपछि अब बाँझिएका सबै जमिनमा बेसार लगाएर ढाक्ने उनको योजना छ । “बाँदरले खाला भन्ने पिरलो भएन, खेती लगाउन वडा कार्यालयले सहयोग गरेको छ, बजारमा सहजै संग बिक्री भईहाल्छ, बेसार लगाएपछि जग्गा सदुपयोगमा आयो भने अर्कोतर्फ आम्दानी पनि हुनेभयो” उनले भने । बाँदरले घरबारी नछाडेपछि अन्नबाली लगाउन छाडेर बेसार खेती सुरु गरेको सावित्रा पंगेनी बताउछन । मकैको तुलनामा दोब्बर तेब्बर आम्दानी लिने गरी व्यवसायीक रुपमा बेसार खेती सुरु गर्न थालेको र बारीमा बेसार लगाउन थालेपछि बाँदर धपाउने समस्याबाट मुक्त भएको उनको भनाई छ ।


बेसार खेती लगाउन वडा नं ७ को कार्यालयले सहयोग गरेपछि गाउँ छाडेर बेशी झरेका कृषकहरु पनि पहिले खेती गर्दै आएका जग्गामा बेसार लगाउन थालेका छन् । बारीमा लगाएका अन्नबाली, फलफुल, घरमा राखिएका अनाज खाएर नष्ट पारेपछि कतिपयले वस्ती नै छाडेर तल्लो क्षेत्रमा बसाई सर्न बाध्य भएका हुन् । बारीका पाटाभरी मकै लगाएर राम्रै आम्दानी गर्ने यदुनाथप्रसाद पंगेनीले बाँदरले सताएपछि उनले पुरानो थाकथलो नै छाडेर खेतमा बसोबास गर्दै आएका छन् । “सम्म परेका ठुला ठुला ट्याक्टर लाग्ने बारीका पाटा छन्, मकै लगायो स्याहार्नै नपाइने, घरभित्रको पनि खाएर हैरान बनाएपछि पुरानो वस्ती छाडेर तल खेतमा घर बनाएर बसेको छु” उनले बताए । वडा कार्यालयले बेसार खेतीका लागी वीउ सहयोग गरेपछि करिव दुई रोपनी क्षेत्रफलमा बेसार लगाएका छन् । अर्को वर्ष बाँझिन पुगेका पुरै जग्गाभरी नै बेसार लगाउने उहाँको सोच छ । परिक्षणका रुपमा लगाइएको बेसार खेती राम्रो हुदै गएको र अर्को वर्ष थप व्यवस्थित तरिकाबाट खेती गर्न कृषकलाई सहयोग गरिने वडा सचिव गिता पौडेलले बताइन् । “बनमारा र झारपातले ढाकिएका जग्गा बेसार लगाएपछि हरियाली बनेका छन्, बाँदरले नोक्सान गर्ला भन्ने पनि पिरलो भएन, यसबाट कृषकले राम्रो आर्थिक लाभ लिन सक्नेछन्” उनले बताए ।


यस क्षेत्रका कृषकले बारीमा लगाएका मकै स्याहार्नै नपाइकन वर्षेनी बाँदरको आहारामै सिमित हुने गरेको छ । बेसार खेती लगाएर कृषकले राम्रो आर्थिक लाभ लिन सक्नेछन् । बेसारको बजार सहज भएकाले बाँदर लाग्ने क्षेत्रमा व्यवसायीक तवरबाट यसको खेती गरेर जीविका चलाउन सकिन्छ । माथिल्लो डाँडाभेग बाँदर लाग्ने क्षेत्रमा बेसार खेती विस्तार गरी पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको छ । वर्षेनी बाँदरले अन्नबाली खाएर नष्ट पारेपछि यहाँका कृषकले हैरानी खेप्दै आइरहेका थिए । बाँदरकै कारण खेती गरिरहेको जग्गा बाँझिएका थिए भने अब बेसार खेती सुरु गरेपछि जग्गा सदुपयोगमा आउने भएपछि कृषक खुशी भएका छन् ।

Facebook Comments