फलेवास कृषिमा ८० प्रतिशत प्रगतिको दावी

लक्ष्मण बिश्वकर्मा,फलेवास

पर्वतको फलेवास नगरपालिकाले गत आर्थिक वर्षमा  कृषि क्षेत्रको विकासमा ८० प्रतिशत प्रगति गरेको दावी गरेको छ । पालिकाले गत शुक्रबार  वार्षिक प्रगतिको समिक्षा गर्दै उक्त दाबी प्रस्तुत गरेको हो । गत बर्ष संचालन भएका योजनाहरुको प्रगति र आगामी कार्यदिशाका बरेमा छ्लफल गर्नका लागि नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।

गत आर्थिक बर्ष नगरमा ९२ प्रतिशत बित्तीय प्रगति हासिल भएको लेखा अधिकृत यशोदा सुवेदीले जानकारी दिएकी छन् । ६६ करोड २९ लाख ६२ हजार १ सय ३७ रुपैयाँ ०.६ पैसा आम्दानी भएकोमा ६० करोड ६६ हजार ७१ हजार ४ सय ४५ रुपैयाँ ७९ पैसा खर्च भएको उनले बताइन् ।

गत बर्ष नगरमा विभिन्न १ सय ७५ वटा योजना संचालन भएकोमा नगरको आर्थिक विकास शाखा अन्तर्गत कृषि विकास र पशु सेवा विकास शाखाबाट विभिन्न कार्यहरू सम्पन्न भएका छन् । कृषीका १५ वटा कार्यक्रममा १ करोड ३७ लाख हजार बजेट रहेको थियो ।

कोरोना कहरका बिच कृषिमा उल्लेखनीय कार्य गरेर ८० प्रतिशत कार्य प्रगति गरेको फलेवास नगरपालिका कृषि शाखा प्रमुख सन्तोष सुवेदीले बताए ।

कृषिका १५ वटा योजना मध्ये १२ वटा सम्पन्न भएका छन भने ३ वटा योजनामा केहि समस्याका कारण भुक्तानीमा समस्या भएकाको उनले बताए ।

गत बर्ष २ सय रोपनी क्षेत्रमा मर्लङ्दी देउराली कृषक समूह र १ सय रोपनीमा चार भञ्ज्याङ् कृषि उद्यम केन्द्रमा सुन्तला र कागती खेती सुरुवात, सामाजिक नक्साङकन सहित दिर्घाकालिन सोछ सहित फार्म विस्तार, निर्वाहमुखी खेतिबाट व्यवसायिक खेतिको सुरुवात, नगरमै २ वटा अमिलो प्रजाती फलफुल नर्सरी स्थापना गरि २ सय कागती र १ सय सुन्तलाका बिरुवा उत्पादन, खाडल अनुगमन तथा अनुदान, टनेल अनुगमन गरि घर बनाएका कृषकहरुलाई मात्र पलाष्टिक टनेल वितरण, १० हेक्टर जमिनमा किबि खेतीको सुरुवात गरिएको र कृषकहरुले व्यावसायिक फार्मको सुरुवात, अनुदान मागेर फर्म सुरु गर्ने पद्धतिबाट फर्म सुरु गरेर अनुदान माग्न थालेको सुवेदीले बताए । यो बर्ष पनि कृषिका कार्यक्रमलाई उपलब्धिमुलक तरिकाले प्राथमिकताका साथ संचालन गरिने सुवेदीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पदमपाणी शर्माले नगरपालिका स्थापना भएदेखि नै पाइपलाईको रुपमा विकास निर्माणका कार्यहरू संचालन गरेको बताए ।

बजेट कार्यनयनमा जोड दिदै नगरको गौरवका लागि दिर्घाकालिन दिगो विकासका कार्य संचालन गरेको उनको भनाइ छ । सबैसंग सहकार्य गर्दै निति, नियम, नियम र प्रक्रिया अनुसार सबै पक्षसँग समन्वय गरेर व्यवस्थित तरिकाले कार्य सम्पादनमा जोड दिएको शर्माले बताए ।

नगर उपप्रमुख मन्जु अधिकारीले नगरले उल्लेखनीय कार्यहरू संचालन गरेकोले नै देशभरकै उत्कृष्ट नगरपालिका भएको बताउदै नगरलाई विकास र समृद्धितर्फ लैजान सबैको साथ र सहयोगको आवश्यकता रहने बताइन ।

नगरपालिकाले सवै क्षेत्रलाई समेटेर सबै वडाहरुमा आवश्यकता र औचित्यका आधारमा कार्यक्रम संचालन गरिएको बताउदै नगरपालिकाले जनतालाई लाभ हुने खालका जनचाहना अनुसारका कार्यमा जोड दिएको अधिकारीले बताइन ।

प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले उल्लेखनीय कार्य सम्पादन गरेको भन्दै सम्पुर्ण शाखा कार्यालय प्रमुख कर्मचारी र अबै पक्षलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमको पहिलो दिन नगरका ११ वटै वडाका सचिवहरुले वडामा संचालित कार्यहरूको प्रगति प्रस्तुत गरेका थिए भने दोस्रो दिन नगरका शाखा प्रमुखहरुले शाखाबाट सम्पादित कार्यको बारेमा वार्षिक प्रगति प्रस्तुत गरेका थिए ।

नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा फलेवास नगरपालिका भित्र गत आ.व. २०७६।०७७मा प्रशासन, योजना, प्रधानमंत्री रोजÞगार कार्यक्रम,पूर्वाधार, पूननिर्माण (भूकम्प), कृषि विकास, पशु सेवा, राजश्व तथा शहकारी , शिक्षा, युवा तथा खेलकूद,स्वास्थ्य, महिलाबालवालिका तथा जेष्ठ नागरिक, न्यायीक, उद्योम विकास (उद्योग), पंजिकरण, ग्रिन फलेवास किल्न फलेवास अभियान र लेखा शाखा अन्तर्गत भएका कामको प्रगति र समिक्षा गरिएको थियो ।

Facebook Comments