दुध र माछामा आत्मनिर्भर हुन कठिन

सिर्जना अधिकारी (लमजुङ)
कृषि तथा पशुपालनमा राम्रो सम्भाव्यता भएर पनि लमजुङमा दुध र माछा उत्पादनमा आत्मनिर्भर नरहेको पाइएको छ ।
भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा पशुजन्य उत्पादन मध्ये जिल्लामा मासु र अण्डा पर्याप्त उत्पादन भएपनि दुध र माछा उत्पादनमा आत्मनिर्भर नभएको पाइएको हो । कार्यालयका अनुसार जिल्लामा अझैपनि माग भन्दा सातसय ३० मेटिक टन दुध र एकसय २७ मेट्रिक टन माछा कम उत्पादन हुँदै आएको तथ्याँकले देखाएको छ ।
कार्यालयका अनुसार जिल्लामा बार्षिक १७ हजार आठसय ४० मेट्रिक टन दुधको माग भएकोमा १७ हजार एकसय ४० मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ । यस्तै बार्षिक दुईसय मेट्रिक टन माछा माग हुने गरेकोमा जिल्लामा जम्मा ७३ मेट्रिक टन उत्पादन हुने गरेको भेटिरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमूख रुपेश श्रेष्ठले बताएका छन् ।


कार्यालयका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा दुध उत्पादनका लागि व्यवसायिक रुपमा गाई भैसी पालन गरिएका छन् । यद्यपी यहाँको उत्पादनबाट जिल्लाको माग अनुुसार अभावहुँदा चितवन, तनहुँ लगायतका जिल्लाबाट दुध आयात हुने गरेको छ ।


दुध उत्पादनका लागि जिल्लामा विशेष गरी व्यवसायिक रुपमा गाई र भैसी पालिएका छन् । कार्यालयको अघिल्लो आर्थिक वर्षको तथ्याँक अनुसार जिल्लामा व्यवसायिक र जिविकोपार्जनका हिसावले ३६ हजार ४६ गाई र ५० हजार एकसय १८ भैसी पालिएका छन् ।
यस्तै जिल्लामा व्यवसायिक रुपमा विभिन्न क्षेत्रमा माछा पालन पनि गरिएका छन् । यद्यपी जिल्लामा उत्पादित माछा माग अनुसार अत्यन्तै न्युन पाइएको छ । विशेष गरि जिल्ला सदरमुकाम बेसीशहर सहित मुख्य बजार क्षेत्रहरुमा जिल्लामै उत्पादन गरिएका माछा कम मात्रै आयात हुने गरेकोछ ।
कार्यालयका अनुसार जिल्लामा १८ हेक्टर क्षेत्रमा व्यवसायिक माछापालन गरिएको छ । यद्यपी सदरमुकाम सहितका मुख्य बजारहरुमा तराइ देखि ल्याइएका माछाहरु विक्रिवितरण गरेको पाइन्छ ।


दुध र माछा उत्पादनमा आत्मनिर्भर नभएपनि मासु र अण्डमा भने लमजुङ आत्मनिर्भर रहेको तथ्याँकले देखाएको छ । जिल्लामा तिनहजार पाँचसय ५८ मेट्रिक टन मासु माग भएपनि चारहजार एकसय पाँच मेट्रिक टन मासु उत्पादन हुँदै आएको छ । प्रत्येक वर्ष पाँचसय ४७ मेट्रिक टन मासु जिल्ला बाहिर निर्यात समेत हुने गरेको तथ्याँकले देखाएको छ ।


यसैगरी पशुजन्य उत्पादन मध्ये लमजुङ अण्डा उत्पादनमा पनि आत्मनिर्भर देखिएको छ । जिल्लामा बार्षिक एक करोड दुईलाख ८७ हजार गोटा अण्डाको माग भएपनि माग भन्दा भण्डै १५ लाख बढि अण्डा उत्पादन हुने गरेको तथ्याँकले देखाएको छ । कार्यालयका अनुसार बार्षिक एक करोड १८ लाख २० हजार गोटा अण्डा उत्पादन हुने गरेको छ ।


यस्तै मासु प्रायोजनका निम्ती अत्याधिक रुपमा कुखुरा बाख्रा, भेडा बँगुर पालिएका छन् । कार्यालयको अघिल्लो वर्षको तथ्याँक अनुसार जिल्लामा दुईलाख ५७ हजार नौसय ४० कुखुरा पालिएका छन् । भने एक लाख ८० हजार ७३ बाख्रा, १२ हजार सातसय ३२ भेडा र चारहजार चारसय ५७ बंगुर पालिएको तथ्याँक छ ।

Facebook Comments