दलित बस्तीका किसानलाई कोदो तथा गहुँ चुट्ने र फल्ने मेसिन प्रदान

जीवीकोपार्जनका रणनितिहरुमा सुधार गर्दै विपन्न परिवारको गरिवी निबारणका लागि पोखरा महानगरपालिका वडा नम्बर २८ माझठानाको डाँडागाउँ दलित बस्तीका किसानलाई शतप्रतिशत अनुदानमा कोदो तथा गहुँ चुट्ने र फल्ने मेसिन प्रदान गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडिपी)तथा पोखरा महानगरपालिका कृषि महाशाखाको संयुक्त आर्थिक साझेदारीमा सञ्चालित कोभिड १९ प्रतिकार्यका लागि सामाजिक आर्थिक पुनर्उत्थान परियोजनाले किसानलाई सो मेसिनसहित झार गोड्ने मेसिन (विडर) समेत वितरण गरेको छ । मेसिन पाएपछि महिलाले खुट्टाले कोदो माड्नु पर्ने झन्झट अन्त्य भएको र उपकरणको प्रयोगले कृषि फसल व्यवस्थापन तथा भण्डारण पूर्वको उपायका लागि सरल बनाएको पोखरा महानगरपालिका वडा नम्बर २८ की कार्यवहाक अध्यक्ष अम्बिका बुढाथोकीले बताइन् ।

करिव १सय घरधुरी रहेको दलित बस्तीमा वर्षेनी ५ सय मुरी कोदो उत्पादन हुने स्थानीय किसान नरबहादुर नेपालीले जानकारी दिए । उनले खुट्टाले कोदो माड्दा कठिन भएको अवस्थामा मेसिनले किसानलाई राहत पुगेको उल्लेख गरे । उनले भुर्तेल गाउँबाट साग किनेर खाने दलित बस्ती परियोजना आएपछि काउली बन्दा बेच्ने ठाउँमा पुगेको दाबी गरे । कोरोनाको मारमा परेका किसानलाई आयआर्जन गरी उत्पादनमा जोड्न कार्यक्रम ल्याएको बताउँदै महानगरपालिकाका मेयर मानबहादुर जिसीले जग्गाको उचित व्यवस्थापन गरी मेसिन राखेर सबैले समान रुपमा उपयोग गर्न सुझाव दिए ।

उपकरण वितरण कार्यक्रममा युएनडिपी गण्डकी प्रदेशका प्रमुख सुदीप अर्यालले कोरोनाको कारण किसानको आर्थिक र सामाजिक क्षेत्रमा असर परेको बताए । उनले दिगो विकास लक्ष्य २०३० अन्तर्गत कसैलाई पनि पछाडि नछोडौं भन्ने सिद्धान्त अनुसार दलित तथा विपन्न समुदायसम्म कार्यक्रम ल्याएको जानकारी दिए । असल छिमेकी सहयोग संघ(गोनेसा)का महासचिव तथा परियोजनाका व्यवस्थापक रामप्रसाद सुवेदीले पोखरा महानगरले उपलब्ध गराउने न्यूनतम सेवा सुविधा पाउन कठिन भएको क्षेत्रमा जिविकोपार्जन सुधार कार्यक्रम ल्याएको बताए । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले ८५ प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गर्न सक्ने जानकारी दिए ।

परियोजनाको सक्रियतामा कृषि समूहले ८ वटा टनेल बनाएर गोलभेडा , काउली र बन्दा लगायत खेती गरेको चेतनशिल कृषि समूहका अध्यक्ष गोमा नेपाली, स्थानीय व्यवसायी मंगलबहादुर नेपालीले बताए ।

Facebook Comments