टिमुरखेतिमा उत्साह बढाउदै किसान


रामचन्द्र बराल/आरसी टाइम्स
पोखरा, असोज ५
पर्यटनका माध्यमबाट प्रादेशिक समृद्धिमा आयामिक विकास गर्ने
घोषण गरेको गण्डकी सरकारले आफ्नो आवधिक नेतृत्वको म्यादी मौकामा ३ सय घरवास पर्यटनको विस्तार गरेर समृद्धिको सपना पुरा गर्ने दावी गरिरहेको छ   ।यसकालागि ग्रामीण र शहरी पर्यटनको भान्छामा प्रयोग हुने मसला मध्ये रैथाने सम्भावना बोकेको टिमुर प्रजातीको उत्पादन तथा बजारिकरणमा कति चासो गर्यो होला भन्ने सबालमा अव खोजीको विषय भएको छ ।
कोरोना प्रकरण सामान्य भएपछि अव पर्यटकीय सक्रियता पनि बढने अपेक्षा गरिएको छ भने घरवास पर्यटनको उच्च बजारिकरण भइरहेका बेला भान्छामा प्रयोग हुने औषधीय महत्वको मसला बाली टिमुर स्थानीय उत्पादनको हैसीयतका बारेमा समिक्षागर्नु पर्ने खँचो देखिएको छ ।
गण्डकी प्रदेश सरकारका कृषि ,वन र पर्यटन इकाइहरुसँग उत्पादन, उपभोग र आपुर्तिको बाली प्रजातीगत विशिष्ट सूचना नै छैन  । यी निकायसँग नत कृषि सूचना केन्द्र क्रियाशील छ , न पर्यटन सूचना केन्द्र नै संचालनमा आएको छ र न त जडीबुटी जन्य वनपैदावारको विशिष्ट प्रजातीगत स्थीतिको इन्भेन्ट्री गरेर सूचना बैक नै बनाइएको छ  । स्थानीय रुपमा सरकार चलाउन पाएमा के के नै समृद्धिको ढोका खोलिने भनेर अपेक्षा गर्दा योजनाका लागि आधारभूत रुपमा चाहिने सूचना केन्द्र बनाउन पनि मन्त्रालयहरु सक्षम देखिएका छैनन्  । उनहिरुलाई सहजीकरण गर्ने भनेर स्थापना गरिएका योजना आयोगहरु प्राथामिक सूचनाका आधारमा आवधिक योजना बनाउनु भन्दा पुरानो हचुवाको तथ्यांकका आधारमा आवधिक योजनाको दस्तावेज प्रकट गरेर बसेका गुनासाहरु बाहिरिएका छन्   ।


पर्यटकीय बजारको भान्छामा अति रुचाइएको मसलाबाली टिमूर हाम्रै पहाडी बनपाखामा पाईने वनस्पति हो र बुटो मै पैसा फलाउने सपना बोक्ने उद्यमीहरुले टिमुर खेति गरेर मनग्गे कमाउने सम्भावना रहेकाले प्रदेशका इलमी किसानहरुले नीजी रुपमा र सहकारीका माध्यमबाट टिमुर खेतिगर्दै आएका छन्  ।
कास्कीमा घान्द्रुक,अर्मला, कास्कीकोट, ढिकुरपोखरी क्षेत्रमा करिव ६५०) जना किसानहरु टिमुर खेतिका संलग्न रहेको सहायक वन अधिकृत कमल लम्सालले जनाएका छन्  ।डिभिजनल वन कार्यलयहरुले जडीबुटी विकास कार्यक्रम अन्तरगत किसानहरुलाई निशुल्क वेर्ना वितरण गर्ने र कतिपय अवस्थामा खाडल खन्ने खर्चमा पनि साझेदारी गर्दै आइरहेको लम्सालले जनाएका छन्  । घान्द्रुक क्षेत्रमा २ सय रोपनीमा खेति भइरहेको छ भने करिव २०० किलो टिमुर उत्पादन हुदै आएको अन्नपुर्ण गाउँपालिकाका कृषि शाखाले जनाएको छ । म्याग्दी घतानको तोरीपानिका बासिन्दाहरूले एकै सिजनमा ४० लाख बढीको टिमुर निर्यात गर्दै आएका थिए  ।घतान र आसपासका गाउँका ५०० भन्दा बढी घरधुरीले व्यवसायिक टिमुर खेतिगर्दै आएका छन् र यस गाउँलाई म्याग्दीको टिमुरको पकेट क्षेत्र नै मानिन्छ  ।म्याग्दी दानाको चित्रेनीपाखो, बेनपा– १० निलपहरा, बेग– २ लालीगुराँस, अर्मन– ८ र ९, पाखापानी– ठूटाबोट, दरवाङको दोवील्ना लमसुङ र दह सामुदायिक वन समूहका उपभोक्ताले सामूहिक टिमुरखेती गरेका छन् ।


एक गाउ एक उत्पादनलाई जोड दिएको म्याग्दीमा टिमुर खेति सञ्जाल पनि गठन भएको छ  ।सञ्जाल अन्तरगत १९ वटा समूहका करिब एक सय घरधुरी कृषकले टिमुर खेती गरेका छन्  ।तोरीपानीको साथै, नेप्टेचौर, स्यानीखेत, काउलेगौडा, भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरवाङ र मुदी टिमुर खेतीका लागि पकेट क्षेत्र हुन्  ।असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय हो  ।गत वर्षको असिना वर्षाले क्षति पुर्याएका कारण यो वर्ष टिमुर उत्पादनमा ह«ास आएको वन कार्यालयका सूचना अधिकारी नविन विश्वकर्माले जनाएका छन्  ।


बागलुङको वन कार्यालयले टिमूरको वेर्ना उत्पादन गर्न नसकिएकाले किसानहरुमा अभियान चलाउन नसकेको बताएको छ  ।गत वर्ष ५ सय टिमुर बेर्ना वितरण गरेको र बेर्ना उत्पादनमा बागलुङको जैमिनी अर्जेवा र अमलाचौर ,राङखानी, बिनामारे, सर्कुवा, पैयुथन्थाप ग्रामीण क्षेत्रमा किसानहरुले उत्पादन गरेको टिमुर बागलुङ, पर्वत, पोखरा र अन्य शहरमा बिक्री हुदै आएको छ । किसानहरु संगठित नगरिएका र सरकारी नर्सरी भन्दा बाहरिबाट बेर्ना उत्पादन तथा खेतिको प्रयास भएकाले कति किसानले कतिबोट खेति गरेका छन् भन्ने आँकडा एकिन हुन सकेको छैन । स्याङ्जाको गल्याङ्ग नगरपालिका–१० स्थित लाखुडाँडाका ५० घरधुरीले देवीभञ्याङ टिमुर व्यावसायिक कृषि समूह गठन गरी सामूहिक टिमुर खेती लगाएका छन्  । अघिल्लो वर्ष ७ सय टिमुरका बिरुवा लगाइसकेका इलमीहरुले गाउँमै नर्सरी बनाएर अरु २५ सय वेर्ना थप गरेको जनाएका छन् ।


टिमूर खेतिमा म्याग्दीलाई उछिन्दै लमजुङ्ग जिल्लाले व्यवसायिक किसानहरुको समूहनै बनाएर अलैची सँगै टिमुर खेति अभियान संचालन गरेको अगुवा कृषक अजय तामाङ्गले जनाएका छन्  । तामाङ्गका अनुसार लमजुङ्गका विभिन्न गाउाका २ सय किसानले ५० हजार टिमुरका बेर्ना लगाइसकेको र अवको ३ वर्ष पछि बजारमा उत्पादन ल्याउने हैसीयत बन्ने दावी गरेका छन्  ।
यसैगरी पर्वतमा गतवर्ष विभिन्न गाउँका ८२ घरधुरी किसानलाई १५ हजार बेर्ना वितरण गरेर पकेट क्षेत्र निर्माणको प्रयास गरिएको वनकार्यालयका सूचना अधिकारी केशव पुडासैनीले जनाएका छन् । पर्वतको विहादीको उरामका २५ किसानले समेत टिमुर खेति गर्दै आएको हाम्रा सम्वाददाता रिखीराम भुषालले जनाएका छन्  ।यसैगरि तनहुँको आँबुखैरेनी स्थीत हिलेखर्कका ८२ किसानले गतवर्षदेखि टिमुर खेति सूरु गरेका छन्  । तनहुँका सेवा निवृत्त वन अधिकृत बाबुराम उप्रेतिले दिएको जानकारी अनुसार हिलेखर्कका ८२ किसानले १९ हजार विरुवा रोपेका छन्   । नवलपुरको दाउन्नेदेवी सामुदायिक वनमा पनि टिमुर खेति हुदै आएको सामुदायिक वन उपभोक्ता महासंघका गण्डकी प्रदेश प्रमुख कालीदास सुवेदीले जनाएका छन् भने गतवर्षमात्रै बौदीकालीको रुचाङ्ग भन्ने स्थानमा किसानहरुले २५ सय टिमुरका बेर्ना रोपेको नवलपुरका वन सूचना अधिकारी शिव श्रेष्ठले जनाएका छन् ।


क्षेत्रीय वन निर्देशनालय पोखराले दिएको जानकारी अनुसार गोरखाको उत्तरी धार्चे तथा लाप्राक क्षेत्रका सामुदायिक वनमा ७ हजार टिमुरका वेर्ना रोपीएको छ भने मुस्ताङ्गको लेतेमा स्थानीय संरक्षण समितिको सक्रियतामा नौ हजार बेर्ना रोपीएको छ । वन निर्देशक केदार पौडेलका अनुसार गत आर्थिक वर्षमा मात्रै प्रदेशमा ७२ हजार टिमुरका बेर्ना रोपीएको जनाइएको छ ।
यसैगरि स्याङ्गजामा ११ हजार ५ सय टिमुर बेजर्ना रोपीएको पनि निर्देशनालयले जनाएको छ । यो आँकडा सरकारी वन नर्सरी र वन कार्यालयले खरिद गरेको बेर्नाको मात्र आँकडा हो । निजी नर्सरी र सहकारीको सक्रियतामा भएको अभिलेख सरकारी सूचनामा जोडिएको छैन । पर्यटन बजारका विशिष्ट बालीहरुको उत्पादन र आपुर्ति अभिलेखन गर्ने सूचना केन्द्र नभएका कारण परदेशबाट कति टिमुर आयात हुन्छ र कति परदेशमा निर्यात हुन्छ भन्ने आँकडा हालसम्म अव्यवस्थीत नै
रहेको छ । रोपीएका वेर्नाको हुर्कदो अवस्थाका बारेमा हालसम्म् सरकारसँग कुनै आकडा रहेको छैन ।

Facebook Comments