घरबन्दीका बेला किसानहरुलाई प्रविधि अनुदान


कोरोना भाइरसको संक्रमणको त्रासलाइ नियन्त्रण गर्न भन्दै नेपाल सरकारले गत चैत्र देखि लगाएको घरबन्दीको अवस्था अझै लम्बीदै जाने अवस्था देखिए स्थानीय सरकारले किसानहरुलाई प्रविधि अनुदान दिन थालेको छ । घरबन्दीको अवस्थाले खेति किसानहरुलाई मर्का पार्ने सम्भावना देखिएकाले आगामी मनसूनी पात्रो अनुसारको कृषि कार्यमा सहजीकरण गर्नका लागि स्थानीय सरकारहरुले किसानका लागि कृषि प्रविधिहरु अनुदानमा वितरण गर्न थालेका हुन् । कास्कीको अन्नपुर्ण गाउँपालिकाकाले जेठको पहिलो हप्तामा आफ्ना किसानहरुलाई प्लास्टीक टनेलका लागि प्लास्टीक सिट, मौरी घार र हाते टेक्टर वितरण गरेको जनाएको छ । पालिकाका ११ वडाका २१० किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

पालिकाकले योजनागत रुपमा १५० किसानलाई वितरण गर्ने योजना भएपनि २१० किसानहरुको माग आएकाले गाउँ कार्यपालिकाकाले सबै मागलाई सम्बोधन गर्ने निर्णय गरेकाले वितरणको आकार विस्तार गरिएको हो । यसै गरि अन्नपुर्णले १० वडाका ३० किसानलाई मौरीघार वितरण गरेको छ । यसैगरि पालिकाले ३५ किसानलाई हालै हाते टेक्टर पनि वितरण गरेको छ । चालु वर्षमा ६० किसानलाई हाते टेक्टर दिने योजना भएपनि वितरकले ढुवानी दिन नसकेका कारण वडा १ देखि ६ सम्मका ३५ किसानलाई हालै वितरण गरिएको र बाँकी वडालाई अर्को चरणमा वितरण गर्ने योजना रहेको पालिकाका कृषि प्राविधिक मनोज कठायतले व्युरोलाई जनाएका छन् ।


यसैगरि स्याङ्गजाको आँधिखोला गाउँपालिकाले पालिकाका किसानलाई आँधीखोलाका कृषकलाई टनेल सहयोग गरेको छ । आधिखोला गाउँपालिकाले कृषकहरूमा परेको समस्या न्युनिकरण गरी स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले टनेलका लागि प्लास्टिक वितरण गरेको छ । आँधीखोलाले विभिन्न वडाका १५० जना किसानहरूलाई ५० प्रतिशत अनुदानमा २०० वटा टनेल प्लास्टिक वितरण गरेको जनाएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षकै बजेटबाट किसानहरूलाई टनेलका लागि प्रयोग हुने प्लास्टिक वितरण गरेको हो । परम्परागत खेती प्रणालीमा आधुनिक प्रविधि प्रयोग गरी व्यावसायिक तरकारी उत्पादनमा लाग्न सकेमा उत्पादन वृद्धि भएर आय आर्जनमा समेत सुधार हुने विश्वासले कृषकहरूलाई टनेल प्लास्टिक वितरण गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । १० मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त टनेल प्लास्टिक प्रति गोटा ४ हजार पचास रुपैयाँ मूल्य रहेकोमा किसानहरूलाई पचास प्रतिशत अनुदानमा २ हजार पच्चीस रुपैयाँमा वितरण गर्ने समारोहमा कृषि शाखाका प्राविधिकहरुले टनेलको उपयोगिताका बारेमा जानकारी गराएका थिए । यसअघि गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा बोडी, सिमी, काँक्रो, लौका, मूला, रायो, रामतोरियाँको बीउ वितरण गरेको पालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले व्युरोलाई जनाएका छन् ।

यसैगरि स्याङ्गजाको फेदीखोला गाउँपालिकाले विगत २ वर्षदेखि खेति नगरिएको बाँझो जमिनमा खेतिगर्नका लागि प्रोत्साहन प्याकेज ल्याएको छ । बाँझो जमिनमा धान कोदो र दलहन तरकारी खेतिगर्न गरि नगद प्रोत्साहन दिने घोषणा गर्दै १५ददिन भित्र किसानहरुबाट मागदावी गर्न आव्हान गरिएको छ । आफ्नो जमिनमा खेतिगर्न र भाडाको जमिनमा खेति गर्ने दुवैलाई प्रोत्साहन दिने योजना भएपनि भाडामा खेति गर्नेलाई केही बढी रकम प्रोत्साहन गर्ने पालिकाले नीति लिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले जनाएका छन् ।

Facebook Comments