गण्डकी प्रदेशमा कृषि पत्रकार समुह

प्रादेशिक कृषि मन्त्रालय गण्डकीको सहजीकरण र कृषि तालिम केन्द्र पोखराको आयोजनामा गत वर्ष पोखरामा सञ्चालन भएको आधारभुत कृषि पत्रकारिता तालिमका सहभागीहरुले तालिमे उपलब्धीको समिक्षा गर्दै भविष्यको बाटो उज्यालो पार्न प्रादेशिक कृषि पत्रकार समूह गठन गरेका छन् । खोज पाठशालाका तर्फबाट तालिम समन्वय गरेका श्रोतव्यक्ति तथा ऋषि कृषि अभियन्ता कुलराज चालिसेको अध्यक्षतामा हालै पोखराको कृषि तालिम केन्द्रमा आयोजित समिक्षा बैठकमा तालिमे सहभागीहरुले कृषि पत्रकारिता तालिम पश्चातका समाचारीय कौशलता र कभरेजका बारेमा अभ्यास र अनुभव प्रस्तुत गरेका थिए ।

गत वर्ष भएको आधारभुत कृषि पत्रकारिता तालिममा १० जिल्लाका ४० पालिकाका सहभागीहरुले कृषि पत्रकारिता अभ्यासको सञ्जालीकरण गर्ने माग गरे बमोजिम पोखरा समिक्षा बैठकले कृषि पत्रकार समूह गण्डकी प्रदेश गठन गरेको चालिसेले बताएका छन् ।

हालैको कृषि पत्रकारिता समिक्षा बैठकले महेन्द्र जिसी (पर्वत) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा पूर्णप्रसाद खराल (नवलपुर), सचिवमा नारायण भुर्तेल (स्याङ्जा), सहसचिव ज्ञानु पंगेनी (नवलपुर), कोषाध्यक्ष विष्णु गौतम (पर्वत) चयन भएका छन् । समूहको सदस्यहरुमा सचिन गिरी (कास्की), महेन्द्र केसी (पर्वत), लक्ष्मण विश्वकर्मा (पर्वत), सालिग्राम पोख्रेल (स्याङ्जा), पावर्ती गोर्खाली (गोरखा), सृजना अधिकारी (लमजुङ) चयन भएका छन् ।

कृषि तालिम केन्द्र डुम्रिबोट पोखरामा गत शुक्रबार सम्पन्न भेलाले ऋषिकृषि अभियन्ता कुलराज चालिसे, कृषि पत्रकार रामचन्द्र बराल र प्राङ्गारिक कृषि समुहका अगुवा ऋषीराम भुषाललाई सल्लाहकारमा चयन गरेको छ ।


प्रादेशिक कृषि प्रसार र कृषक जागरणकालागि कृषि सञ्चारिकरणको दर बढाउन कृषि पत्रकार समुहले सक्रियता निर्माण नवगठीत समुहका अध्यक्ष महेन्द्र जीसीले प्रतिवद्धता जनाएका छन् । समूहले प्रदेशका सबै जिल्लामा सञ्जालीकरण र कृषि सञ्चारिकरण गतिविधि विस्तार गर्ने निर्णय गरेको सचिव नारायण भुर्तेलले जनाएका छन् ।

Facebook Comments