गण्डकीमा कन्दमुल खेति : सरकारले विर्सेको- संस्कृतिले जोगाएको

कन्दमुल खेति गर्दै आएका इलमी टुकाराम लामिछाने

पुर्खौली टारी खेतमा कन्दमुल खेतिगर्ने सोच बनाएका पोखरा माझठानाका एक जना इलमी कृषि विकास कार्यालयमा आएर कन्दमुल खेतिको योजना सुनाउँदै तरुलको विउ र प्रबिधिबारे माग गर्दा तरुलको पनि कहि विउँ हुन्छ र ? भन्दै कर्मचारीहरुले हासो उडाए । पोखराको परम्परागत कन्दमुल सास्कृतिक मेला लाग्ने ढुङ्गे साँघु महतगौडामा कन्दमुल प्रदर्शनी गर्नाका लागि पोखरा आरोग्य सेवा केन्द्र र ढुंगेसाँघु मेला व्यवस्थापनमा सक्रिय युवाहरुले कृषि विकास निर्देशनालयमा सहयोगका लागि प्रस्ताव लिएर जाँदा कृषि ज्ञान केन्द्रले बजेटरी जिम्मा पाएको बताएर तर्कीए भने ज्ञान केन्द्रका ज्ञानी महोदयले कन्दमुल खेति प्रवद्र्धनका लागि बजेट नतोकिएको भनेर विज्ञता देखाए ।

राज्यले गर्नु पर्ने काम नागरिक सक्रियतामा हुन लागिरहेको र नागरिक सहभागीता सबल हुने मौका आइ पर्दा समेत राज्यको कृषि विकासका लागि सपथ खाएका विज्ञ प्राविधिकहरुबाट नीजी इलमी र सामुदायिक संस्थाहरुले समेत उपेक्षा पाइरहेको वास्तविकताले कन्दमुललाई सरकारले विर्सेको र संस्कृतिले जोगाइरहेको खाद्यन्नका रुपमा चिन्न थालिएको छ ।

दुइढुंङ्गा बीचको तरुल चोखै निकाल्न छिमेकी चट्टान पन्छाउनै पर्ने,
तरुल खन्दै कास्की लेखनाथको स्याङ्गखुदीका उद्यमीहरु

गण्डकी प्रदेशका हिमाली , पहाडी र मैदानी सबैखालका बस्तीहरुमा कन्दमुलको घरेलु उत्पादन हुदै आएका छन् । व्यवसायिक रुपमा कन्दमुलको खेति प्रयासमा सरकारी सहयोग विना नै नीजी तथा सामुदायिक सक्रियतामा कन्दमुल अनुसन्धान र संरक्षणका प्रयासहरु हुन थालेका छन् । लेखनाथको स्याङ्गखुदीमा २६ रोपनी जमिनमा व्यवसायिक कन्दमुल खेति गर्दै आएका इलमी टुकाराम लामिछानेले ३ हजार पाँच सय बेर्ना रोपेर यस पालि पोखराको कन्दमुलबजारमा रैथाने उपज प्रकट गरेका छन् । लामिछाने अर्गानिक कृषि फार्मका रुपमा ५ जना स्थानीय मजदुरलाई दैनिक एक हजार ज्याला उपलब्ध गराएर गतवर्षदेखि कन्दमुलको खेतिमा लागेका लामिछानेले स्थानीय गाउँघर, बागलुङ्ग, म्याग्दी र झापाबाट तरुलको विउँ झिकाएर खेति थालेको बताएका छन् ।

कन्दमुल बजार पठाउनु पुर्व बर्गीकरण गर्दै तरुल उत्पादकहरु

दुइवर्षे अनुभवका आधारमा लामिछानेले बताए अनुसार स्थानीय जातका तरुल पाँच किलो देखि २० किलो सम्मका फालेको पाइएको छ । उनलाई विउ उपलब्ध गराउने स्थानीय किसानले त एक वेलो तरुलबाट १०० किलोसम्म फलाएको र उनको फार्ममा पनि त्यो सम्भावना रहेको समेत लामिछानेले बताएका छन् ।

कन्दमुल खेतिको बजारिकरण गर्नका लागि पोखराका स्थानीय थोक कृषि बजारियाहरुले उनको फार्म अवलोकन गरि माघेसंक्रान्ती अगाडीको थोक बजार मुल्य समेत निधो गरेर उत्पादीत सबै तरुल खरिदगर्ने सहमती पनि गरिसकेको बताइएको छ । तरुलहरुको प्रजाती सुचीकरण नगरेको भएपनि यो हिउँदमा करिव ५ हजार किलो तरुल उत्पादन हुने अनुमानगर्दै दैनिक जसो तरुलखन्ने अभ्यासमा इलमीहरु सक्रिय भइरहेका छन् ।

पोखरा ३१को बेगनास तालको उत्तरी पाखो स्याङ्गखुदीमा अर्गानिक कृषि अनुसन्धान र बजारमुखी उत्पादन गर्नमा लागी परेका माझाठानाका लामिछानेको कन्दमुल खेति अभियानले छिमेकीहरुलाई पनि पाठ सिकाएको र कृषि पर्यटनका पुर्वाधार विकास गर्न प्रेरित गरेको देखिएको छ ।


पोखराको ढुंगेसाँघुमा परम्परागत कृषि औजार हाट बजार लाग्ने ठाउमा गत वर्षदेखि नै कन्दमुलमेला आयोजना हुन थालेको छ र यसपालि प्रतियोगितात्मक कन्दमुल प्रदर्शनी समेत आयोजना गरिएको जनाइएको छ । गत वर्षको कन्दमुलमेला आयोजनाबाट उत्साही युवाहरुल प्रादेशिक कन्दमुल अनुसन्धान तथा विजवृद्धि कार्यक्रम सन्चालन गर्नका लागि चासो देखाउँदै स्थानीय पोखरा महानगरको सहकार्यमा २० थरीका तरुल , २० थरीकै सखरसण्ड लगायतका बैकल्पीक खाद्यन्नको विजवृद्धि कार्यक्रम संचालनगरिरहेको बताएका छन् ।


विसं. २०५९ साउनमा लमजुंगमा स्थापना भएको सर्वोदय सेवा आस्रमले पनि गत वर्षदेखि कन्दमुल खेति र अनुसन्धानकार्यलाई जोड दिन थालेको छ । प्रकृति रक्षा र प्राकृतिक खेती प्रणालीसँग योग प्राकृतिक चिकित्सा आयुर्वेद जीवनशैलीको अन्योन्यासृत सम्बन्ध हुने भएकाले सर्वोदय सेवा आस्रमले प्राकृतिक खेति प्रणालीमा कन्दमुललाई जैविक पौष्टिक तत्वका रुपमा ग्रहण गर्दै जेष्ठनागरिक आस्रम पनि संचालन गरेको छ ।

सर्वोदयले आस्रित बाबा आमाहरुका लागि तरकारिको साथै खाधपोषणको रुपमा तरुल, सखरखण्ड, पिंडालु ,भ्याकुरको उपयोग गर्दै आएको जनाएको छ । पोखरा सिमलचौरको आरोग्य सेवा केन्द्रका अगुवा कुलराज चालिसेको समन्वयमा गत बर्ष केहि तरुल भ्याकुर गिठाको लगेर कन्दमुल खेति विस्तारको प्रयास गरिएको लमजुङ्ग तार्कुघाट हर्राबोटका कृष्ण ओलीयाले जनाएका छन् । हिमालयन एग्रो टुरीजम समेत सञ्चालन गर्दै आएका ओलीयाले राइनास नगरपालिका वडा नं ८ लमजुंगको आफ्नो फार्ममा पिंडालु तरुल अदुवा वेसार खेति शुरु गरेको जनाएको छ भने यो वर्षदेखि खेति विस्तार गर्ने जनाएको छ ।


कन्दमुललाई घरबास पर्यटनमा समेत जोडेर हेर्न सकिने अठोट गर्दै पर्वत कुस्माको खरेहामा संचालित कुश्मा घरवास केन्द्रले घरबास कार्यक्रममा जोडिएका प्रत्येक घरमा प्लास्टीक छानो निर्माण गरि पूर्ण प्राङ्गारिक बिधिवाट मौसमी तथा बेमौषमी तरकारी खेति गर्नु पर्ने र प्रत्येक घरमा तरुल लगायतका अन्य कन्दमूलहरु लगाई सिजन अनुसार पाहुनाहरुलाई खुवाउनु पर्ने नै बनाएको कुश्माका भवानी शर्माले बताएका छन् ।

घरवास पर्यटनको यो अभियानलाई प्रेरित गर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ ले खरेहामा व्यावसायिक रुपमा कन्दमुल खेती गर्न किसानलाई प्रेरित गरेको थियो । बजारमा तरुल, भ्याकुर, गिठा, वनतरुल जस्ता तरकारीहरुको माग बढ्दै जान थालेपछि उक्त वडाका बासिन्दाहरुलाई लक्ष्य गरी कन्दमुल खेती बिस्तार अभियान थालिएको वडा अध्यक्ष सुवासचन्द्र पौडेलले जनाएका छन् । कन्दमुल खेती गर्न इच्छुक किसानहरुलाई संगठित गरी पहिलोवर्ष नै वर्ष ६ क्वीन्टल कन्दमुलको बिऊ बितवरण गरेको उक्त वडाले प्रति कृषक ५ देखि १० किलोको दरले ८० जनाभन्दा बढि कृषकलाई तरुल, बनतरुल, भ्याकुर, गिठा जस्ता कन्दमुलको बिऊ वितरण गरेको थियो ।


दक्षीण पर्वतको बिहादी गाउँपालिका १ बाच्छा संचालनमा आएको घरबास कायृक्रमले गिठा र भ्याकुरका परिकार खुवाउने गरी होमस्टे सञ्चालन थालेको छ । होस्टेमा बस्नका लागि पुग्ने पाहुनालाई कन्दमूलको स्वादमा रमाउनुका साथै पूर्ण अर्गा्निक खाद्यान्नहरू खुवाउने गरी होमस्टे सञ्चालनमा विहादीबाट ऋषिराम भुसालले जनाएका छन् । बच्छेश्वर सामुदायिक होमस्टे ले रैथाने कन्दमूलका रूपमा पाइने गिठा, भ्याकुर, सखरखण्ड, पिँडालु, तरुल, लगायतका परिकारहरू होमस्टेका सुचीमा रहन थालेका छन् ।


पोखराको तरकारी बजारमा कनदमुलको आयाताका हिसावमा पाल्पा, सर्लाही, धादिङ्ग र भारतीय बजारको ढुलो आकार रहेको व्यापारीहरुले बताएका छन् । गण्डकी प्रदेशको स्थानीय तरुल स्थानीय ग्रामीण र साना बजार केन्द्रमै खपत हुने र थोक बजारमा आउने गरि उत्पादन हुन नसकेको व्यापारीहरुले बताएका छन् । उत्पादन पछि धेरै समय सम्म भण्डारण गर्न सकिने विभिन्न परिकार बनाएर खान सकिने खेति गर्दा रोग किराको प्रकोप कम हुने पौष्टिक पनि हुने हुनाले यो कन्दमुल खेतीको महत्व बढि रहेको छ जानकारहरुले बताएका छन् ।


कन्दमुलको बैकल्पिक खाद्य पहुँचहुने सम्भावना बारे विज्ञहरुले आवस्यक क्यालोरीमा सम्झौता नगरीे खाद्यान्न आयात प्रतिस्थापन गर्न सकिने र भिरपाखा तथा नदीको बगर समेत उपयोग गर्न सकिने सम्भावना भएको बताएका छन् । रैथाने परम्परा र कृषि उपज तथा औजारहरुको कारोबार हुने यस्ता मेला जात्राहरुले कन्दमुलको बैकल्पिक खाद्य सूरक्षाको माध्यम बनाइनु पर्ने र गण्डकी प्रदेशमा कन्दमुल उत्पादन, प्रसोधन र बजारीकरण गर्न अनुसन्धान केन्द्र र प्रयोगशाला निर्माण खाँचो रहेको बताइएको छ ।

पोखरा महानगरको कृषि विकासशाखाले गत वर्ष स्थानीय युवाहरुलाई आवस्यक तालिम तथा सहजीकरणका लागि सिन्धुली पनि पठाएको र विज बृद्धिमा सहयोग गरेको ढुंगेसाँघु मेला व्यवस्थापनमा सक्रिय रहेका युवा शंकर आचार्यले बताएका छन् ।


यसपालिको मकर संक्रान्तीमा आयोजना गरिएको प्रतियोगितात्मक कन्दुल प्रदर्शनीले रैथाने कन्दमुलका विभिन्न प्रजातीहरुको संकन , वीज उत्पादन र स्थानीय कृषकहरुमा विज बजारीकरण गर्नसकिने सम्भावना देखिएको ऋषि कृषि अनुसन्धान सहजकर्ता कुलराज चालीसेले जनाएका छन् । खाद्य विकल्पको निर्माणका लागि भातेसंस्कृतिको न्युनिकरण तथा पुरानो खाद्य ज्ञानको संरक्षण गर्नका लागि कन्दमुलका कैयन प्रजातीहरुको पहिचान र संरक्षण तथा नयाँ प्रजातीहरुको अनुसन्धानका सबाल निर्माणमा मेलाका अवसरमा आयोजना गरिएको कन्दमुल प्रदर्शनीले प्रेरणादिएको मेलाका व्यवस्थापनका अगुवा केदार आचार्य र प्रकाश भण्डारीले बताए ।

Facebook Comments