कोविडमा कृषि विकासका क्रियाकलाप आंशिक प्रभावित

कोरोना प्रकरणका कारण गण्डकी प्रदेशका कृषि तथा पशुपन्छी विकासका क्षेत्रमा सरकारी लाइन एजेन्सीहरुबाट लक्षित गरेका क्रियाकलापहरु आंशिक प्रभावित भएको प्रादेशिक सरोकारवालाहरुले जनाएका छन् । हालैका हप्तामा पशुपन्छि विकास निर्देशनालय माटेपानी र कृषि विकास निर्देशनालय मालेपाटनमा भएका विषयगत एजेन्सी कार्यालयहरुले गत चार महिनाका क्रियाकलापहरुको समिक्षाका क्रममा कोरोना प्रकरणले आंशिक प्रभाव पारेका कारण लक्षित प्रगति पाउन बाधा पुगेको बताएका छन् । प्रदेशमा रहेका ७ वटा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र ६ वटा कृषि ज्ञान केन्द्र तथा २ वटा विषयगत तालिम केन्द्र, ४ वटा श्रोत केन्द्र , २ वटा विषयगत प्रयोगशाला सहित १४ प्रकारका ३५ एजेन्सी कार्यालयका एकाइहरुले गण्डकीका कृषि तथा पशु सेवाका क्षेत्रमा सेवा टेवा दिदै आइरहेका छन् ।
यद्यपी पहिलेको शासकीय प्रणालीमा कृषि तथा पशु सेवा केन्द्रहरुले गाउँका बस्ती समेटेर किसानको नजिकको सरकारका रुपमा काम गर्दथे भने अहिले ति सेवा केन्द्रहरु स्थानीय पालिकामा गाभिएको अवस्था र स्थानीय पालिकाहरु नै नजिकको सरकारका रुपमा काम गर्ने मान्यतामा क्रियाशील भएकाले पालिकाका कृषि तथा पशु सेवाका प्राविधिकहरुलाई सबलीकरण गरेर परिचालनका लागि सहजिकरण गर्नु खाँचो रहेको विषय विज्ञहरुले औल्याएका छन् । तर पालिकास्तरमा रहेका प्राविधिक जनशक्ति विषयगत काममा श्रोतसाधन र सहजिकरणको न्युनतामा चापमा परिरहेका छन् र प्रादेशिक कार्यालयहरुमा जनशक्तिको न्युनता तथा संघिय तथा प्रादेशिक कामको चापले लक्षित प्रगती लिन नसकिएको गुनासो पनि आएको छ ।
तल्लो तहको र बस्ती स्तरको मागको चासो नगरि लोकप्रीयता र नक्क्लका कारण माग भन्दा फक परियोजना र कार्यक्रमहरु प्रादेशिक रुपमा लादिएका तथा एकै प्रकृतिका काम संघ, प्रदेश र स्थानीय निकायमा पनि देखिएकाले दोहोरोपना देखिएको र अनुदानका मापदण्डमा समेत फरक स्ट्याण्डर्ड देखिएकाले अनुदानग्राहीहरुमा सम्बन्ध र सहकार्य प्रभावित हुने सभ्भावना बढाएको पनि जिल्लाका प्राविधिक अगुवाहरुले बताएका छन् ।
कोभिड कहरमा पनि यतिको क्रियाकलाप हुनु पनि सन्तोषजनक मान्नु पर्ने बताउँदै प्रादेशिक कृषि सचिव सवनम शिवाकोटीले संघीय मन्त्रालयका लक्षित क्रियाकलापलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिदै किसानहरुको मौसमी कृषि पात्रोलाई ध्यानमा राखेर किसानलाई प्रत्यक्ष लाभहुने क्रियाकलापलाई चाडै सम्पादन गर्न ज्ञान केन्द्र तथा विज्ञ केन्द्रका प्रतिनिधिहरुलाई आग्रह गरेकी छन् । सरकारी अनुदानका परियोजना र विमा जस्ता अनुदान पाइने कार्यक्रममा पनि किसानको प्रसस्त माग नआउँनुमा सूचना नपुगेर वा किसानको मागमा आधारित कार्यक्रम नभएर हुन सक्ने बताउँदै सूचनाको पहुँच बढाउन र आगामी वर्षका लागि मागमा आधारित कार्यक्रम बनाउनका लागि पनि बलैेमा गृहकार्य गर्न सचिव शिवाकोटीले निर्देशन दिएकी छन् ।
पशुसेवा निर्देशक मनबहादुर पुनको अध्यक्षतामा गत शुक्रबार माटेपानीमा भएको समिक्षामा भेटेरिनरी अस्पताल तनहुँबाट बालकुमार श्रेष्ठ, बाग्लुङका प्रमुख शम्भु पाण्डे, लमजुङका प्रमुख रुपेश श्रेष्ठ, कास्कीका प्रमुख शोभा शर्मा, स्याङ्जाका प्रमुख बज्रकिशोर ठाकुर, म्याग्दीका प्रमुख नारायण कुशुम, गोरखाका प्रमुख इन्द्रबहादुर भट्ट, मत्स्य विकास केन्द्र मिर्मीका प्रमुख कृष्ण उपाध्याय, पशु सेवा तालिम केन्द्रका प्रमुख दीर्घनाथ ढुँगाना लगायतले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
यसैगरि हिजो आइतबार कृषि विकास निर्देशनालय प्रमुख निलकण्ठ पोखरेलको अध्यक्षतामा मालेपाटनमा भएको समिक्षामा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मी, रेशम विकास कार्यक्रम पोखराका प्रमुख विनोद हमाल, कृषि ज्ञान केन्द्र लमजुङ्गका प्रमुख रोहीणी राज घिमिरे, कृषि ज्ञान केन्द्र गोरखाका प्रतिनिधि प्रमोद गैरे, तनहुँका प्रमुख कुलप्रसाद तिवारी, स्याङ्गजाका प्रतिनिधि इश्वरीप्रसाद अर्याल, म्याग्दीका प्रमुख गोविन्द कोइराला, कृषि तालिम केन्द्रका प्रमुख विष्णु घिमरे,श्रोत केन्द्र बन्दीपुरका प्रमुख संजिव बास्तोला, बालीसंरक्षण प्रयोगशाला प्रमुख परशुराम अधिकारी, बीउविजन प्रयोगशालाका प्रतिनिधि दिनेश पाठक समेतले चौमासिक क्रियाकलापहरुको समिक्षा प्रस्तुत गरेका थिए ।

Facebook Comments