कृषि प्रसारका लागि कृषि मिडिया परिचालन गर्न जोड

आरसी टाइम्स व्युरो
पोखरा, फाल्गुण १०
प्रादेशिक कृषि विकास तथा अनुसन्धान र बजारिकरणका अभ्यास र अनुभवलाई लक्षित समुदायसम्म पुर्याउन कृषि मिडियालाई परिचान गरेर कृषि प्रसारलाई प्रभावकारी बनाउनु पर्ने खाँचो रहेको सरोकारवालाहरुले बताएका छन् । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले प्रादेशिक रुपमा कृषि प्रसारको रणनितिलाई प्रभावकारी बनाउन पृष्ठपोषणका लागि हिजो पोखरामा आयोजित कृषि मिडिया र कृषि सरकार अन्तरसम्वादका क्रममा सहभागीहरुले कृषि प्रसारको प्रभावकारिताका लागि कृषि मिडियाको परिचालन गर्नु औचित्यपुर्ण हुने तर्क उठाएका छन् ।

गण्डकी प्रदेशका कृषि पत्रकारहरुको सहभागिता र कृषि सरकारका अनुसन्धान तथा कृषि प्रसार एजेन्सी बीचको अन्तरसम्वादका अवसरमा विधागत स्थीति र अन्तरसम्बन्धगत जटिलताका बारेमा विज्ञहरुले प्रस्तुति राखेका थिए । उक्त अवसरमा कृषि अनुसन्धान केन्द्रका तर्फबाट कृषि वैज्ञानिक कालिका प्रसाद उपाध्याय, कृषि प्रसारका बारेमा कृषि निर्देशनालय प्रमुख बासुदेव रेग्मी, कृषि विकासको संस्थागत स्मरण र सुचना बैकका बारेमा खोज पाठशालाका ऋषिकृषि अनुसन्धानकर्ता कुलराज चालिसे तथा कृषि पत्रकारिताका चुनौति र समाधानका विकल्पका बारेमा कृषि पत्रकार रामचन्द्र बरालले छलफल चलाएका थिए ।


कृषि विकास क्रियाकलापमा अनुदान परिचालन र अनुगमन तथा जवाफदेहिताका सबालमा मिडिया सहकार्यको उल्लेखनीय योगदान हुनसक्ने तथा सुशासनका लागि समेत सकारात्मक योगदान हुने अपेक्षाले मिडियालाई कृषि प्रसारका भूमिकामा जोडनु आवश्यक देखिएको सबाललाई निर्देशक रेग्मीले प्रस्तुत गरेका थिए । खाद्यन्न र तरकारी उत्पादनमा सरकारी प्राथमिकता बढेको तर दलहन र तेलहनका क्षेत्रमा खासै चासो पूग्न नसकेको, पालिकागत रुपमा हुने गरेका कृषि सूचना र उपलब्धीका बारेमा अपडेट हुनु पर्ने खाँचो रहेको, खाद्यन्न वासलातमा रहेको न्युनस्तरलाई सन्तुलनमा लैजान र कृषि विमा तथा कृषि कर्जा परिचालनमा विद्यमान परिस्थीतिका बारेमा रचनात्मक पृष्ठपोषण दिनका लागि कृषि पत्रकारले पनि कृषि कर्म र मर्म बुझेर रिपोर्टिङ्ग गर्ने अभ्यास गर्ने हो भने समग्र कृषि विकासका क्रियाकलापमा सुशासन र सहभागीताको दर बढाउन सघाउने अपेक्षा गरिएको रेग्मीले छलफलमा ल्याएका थिए ।


कृषि अनुसन्धानका क्रममा नियन्त्रीत अनुसन्धान र बाह्यक्षेत्र अनुसन्धानका साथै नार्क प्रविधि गाउँका रुपमा तनहुँको आँवुवारादीलाई छनौट गरि प्रविधि संग्रालयका रुपमा अवलोकनीय क्षेत्र बनाइएको बारे नार्कका कृषि बैज्ञानिक उपाध्यायले चर्चा गरे ।


यसैगरि नेपालमा कृषि विकासका क्रियाकलापहरुको ऐतिहासिक कदमका रुपमा २००८ सालदेखि त्रिभूवन ग्रामविकास कार्यक्रम हुदै पञ्चायत विकासका ब्लक डेभलपमेन्ट देखि आजभोलिको आधुनिक स्मार्ट कृषि विकास परियोजनासम्म आइपुग्दा गरिएका लगानी र तिनिहिरुको उपादेयताका बारेमा के—के उपलब्धी भए—गरेका छन भन्ने तथ्यको समिक्षा र सूचनाको सहज पहुँचसहितको सूचनाबैक निर्माण गर्नु खाँचो रहेको बताउँदै अर्का प्रस्तोता चालिसेले कृषि प्राविधिकको अड्डामा भन्दा एग्रोेभेटहरुमा कृषि प्रविधि सल्लाहका लागि किसानहरुको लाइन बढदै गएको अवस्थाका बारेमा सचेत हुन आग्रह गरेका थिए । विगत ७० वर्षमा राज्यले कृषिका नाममा गरेको लगानीले के—के उपलब्धी दियो भन्ने सबाल उठाउदै गर्दा सरकारले नै कृषिमा नयाँ रोग र विषादी भित्र्याएको र अन्ततः कृषि फार्महरु फौजी अड्डालाई सुम्पीदै आएको विडम्बनासँगै अनुदान भाइरसले कृषि विकासका दिगो मोडललाई कमजोर बनाउन बल पुर्याएको चालिसेले दावी गरेका थिए । कृषि सूचना बैंकको अभावमा अनुसन्धानकर्ता तथा कृषि पत्रकारलाई विवेचनात्मक आलेखका लागि कुनै भरपर्दो श्रोत नभएको चर्चा गर्दैे सरकारी प्रगतीमा अनुदान बढेको देखाउने, कृषि कार्यालय कृषि उत्पादन बढेको देखाउने, भन्सार कार्यालय कृषि आयात बढेको देखाउने अनि साच्चै विकास—प्रगतिको आँकडा कसलाई पत्याउने भन्दै चालिसेले सबाल उठाए ।


अन्य पत्रकारीता भन्दा कृषि पत्रकारीता विशिष्ट भिन्नता रहेको तर्क गर्दै कृषि सञ्चारिकरणका लागि कृषि पत्रकार बनाउन र टिकाउन कठिनाइ भएकाले कृषि प्रसारको प्रभावकारिताका लागि प्रादेशिक कृषि सूचना केन्द्र स्थापना गरि यसैले प्रदेशका १९७ कृषि प्रसार एजेन्सीका अभ्यासलाई ‘न्युज रुम’मार्फत संकलन र वितरणको प्रणाली विकास गर्नु पर्ने तथा आगामी पाँचवर्षमा स्वायत्त रुपमा ‘कृषि पत्रकार समुह’ मार्फत व्यवस्थापन गर्ने ‘कृषि समाचार केन्द्र’को स्थापनामा पहल गर्नु खाँचो रहेको अर्का प्रस्तोता बरालले छलफल चलाएका थिए । यो ‘न्युज रुम’ प्रणालीले व्यवसायिक कृषि पत्रकारीताको संस्थागत विकास हुने, कृषि प्रसार प्रकृयालाई गतिशील बनाउन सकिने हुनाले कृषि सरकारले केही सकारात्मक पहल गर्नुपर्ने उनले प्रस्ताव गरेका थिए ।


विज्ञहरुको प्रस्तुति माथी सुझाव र टिप्पणी राख्दै कृषि पत्रकार समूह गण्डकीका अध्यक्ष महेन्द्र जीसी, पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीया विहादी पर्वतका रिखिराम भुसाल, पाउँदुर कास्कीका कुशल पौडेल, नवलपुर कावासोतीकी ज्ञानु पंगेनी, बडिगाड बागलुङ्गका दिनेश शर्मा , पोखराका सचिन गीरी तथा टेलीभिजन पत्रकार परशुराम शर्माले टिप्पणी तथा जिज्ञाशा राखेका थिए ।


छलफलमा प्रतिउत्तर गर्दै कृषि वैज्ञानिक काली प्रसाद उपाध्ययाले प्रस्तावित ‘न्युज रुम’ प्रणाली, कृषि संचारगत योगदानको नीतिगत सम्बोधन र कृषि पत्रकार पहुँचका विषयलाई सकारात्मक सिकाइका रुपमा लिन सकिने बताए ।


छलफलमा उठेका सुझावले प्रादेशिक कृषि मन्त्रालयको आगामी वर्षको कार्यक्रममा प्रस्ताव गर्नसकिने नितिगत तथा कार्यक्रमगत सबाललाई सूचीकरण गर्न उज्यालो पारेको बताउँदै प्रादेशिक कृषि सचिव सवनम शिवाकोटीले हाल प्रदेशमा रहेका जनशक्तिको न्युनताका कारण नियमित कार्यबोझमा रहेका सुचना अधिकारी र प्रवक्ताहरुलाई सूचना केन्द्रमा परिचालन गर्न र ‘न्युज रुम’ प्रणाली सक्रिय बनाइहाल्न नसकिएको बताइन् । मिडियाबाट कृषिले रचनात्मक समय र सकारात्मक सुझावको अपेक्षा राखेको र राम्रा काममा टेवा दिने र कमजोरी न्युनीकरणका लागि औल्याउने सकारात्मक मोडलको पत्रकारीताको सदैब सम्मान गरिने पनि सचिव शिवाकोटीले जोड दिइन् ।
छलफलको सुझावलाई सम्बोधन गर्दै कृषि विकास निर्देशनालय प्रमुख बासुदेव रेग्मीले आगामी वर्षमा कृषि प्रसार र कृषि संचारलाई सहकार्यका रुपमा परिचालन गर्न कृषि ज्ञान केन्द्रहरुको प्रस्तावित योजना तथा अनुगमन खाकामा सम्बोधन गर्न पहल गरिने प्रतिबद्धता जानाएका थिए ।


प्रादेशिक सरकार स्थापनाको तीन वर्ष वितेको अवस्थामा कृषि सरकारले कृषि पत्रकारका कुरा सुन्न र विधागत पत्रकारीता विकासमा सकारात्मक योगदान पुर्याउन पहल गरेको भन्दै कृषि प्रसारका कृषक पाठशालाहरुबाट आफुहरुले पनि सिक्ने र सञ्चारशैली परिमार्जनमा टेवा पुग्ने अपेक्षा राखिएको गण्डकी प्रदेश कृषि पत्रकार समुहका सदस्यहरुले जनाए ।

Facebook Comments