कृषिमा वैदेशिक लगानी आकर्षण गर्न गुणस्तरीय पानीको भूमिका

कुलराज चालिसे

हिन्दुधर्मशास्त्रमा ब्रह्मः तथा ब्रह्माको शब्दलाई व्यापक प्रयोग गरीएको छ । सप्तलोकको रचयिता शिव र नारायण ब्रह्मः तथा ब्रह्माको दायरा भन्दा पर हुनुहुन्छ । वाहाहरुको संकल्प अनुसार ब्रह्मःको सहाराले ब्रह्माण्डको निर्माण गर्न ब्रह्माले विज्ञानशक्ति उपयोग गरेर स्वचालित पद्धत्तिको स्थापना गर्नुभयो । हिरण्यगर्भ तथा ब्रह्मद्रवको उपमा दिईएको त्यो पद्धत्तिमा पानीको स्थान केन्द्रमा छ । ऐतरेयोपनिषद् १ः१ः२ मा पानीलाई चार गुणस्तरमा व्याख्या गरीएको छ । रसतन्मात्राको सम्वन्ध द्युलोकमा अवस्थित अम्भः नामक पानीसंग सम्बन्धित छ । अनि अन्नको सम्बन्ध उक्त रसलाई अन्नवन्दी गर्नेमा छ । नेपालको पानीमा रसतन्मात्राको अंश तुलनात्मक धेरै छ । हाम्रो पानीमा अम्भःको अंश तुलनात्मक धेरै छ । दक्षिणको विशाल बजारलाई मध्यनजर राखेर त्यसै सत्यलाई तुलनात्मक बजार लाभको निमित्त रणनीतिक उपयोग गर्न आवस्यक देखिएकोले यो आलेख पस्किने जमर्काे गरीएको छ ।

स ईक्षतेमे नु लोकाश्च लोकपालाश्चान्नमेभ्यः सृजा इति ।।१।।
सोपोभ्यतपत् ताभ्योभितप्ताभ्यो मूर्तिरजायत । या वै सा मूर्तिरजायतान्नं वै तत् ।।२।।
(ऐतरेयोपनिषद् १ः३ः१ र २)

प्रकृतिको सृजना गरेपछि जीवजगतलाई सनातनी बनाउनको निमित्त परमेश्वरले भोक र प्यासको पद्धत्ति बसाई दिनुभयो । त्यसको निमित्त अन्नको जरुरत भयो । त्यसको निमित्त अमूर्त अप् (अग्निमा अभितप्त जल) लाई मूर्त स्वरूप दिनुभयो । त्यही नै अन्नको मूलाधार हो । त्यसैको आधारमा अन्नको उत्पादकत्व मापन गरीन्छ । माथि उल्लेखित ऐतरेयोपनिषद्को मन्त्रले सूर्यको किरणमा अभितप्त पानीमा चन्द्रदेवले मिश्रण गर्नु भएको अमृत गुणलाई वनस्पतिको माध्यमले अन्नवन्दी गर्ने प्रकृयालाई ऐतरेयोपनिषद्ले अन्न मानेको छ । अन्नको गुणस्तर पानीको गुणस्तर अनुसार हुने व्यहोरा उक्त उपनिषद्को प्रथम अध्यायको प्रथम खण्डमा नै संकेत गरीएको छ ।

माथि उल्लेखित सुत्रचित्रमा चारलोकलाई उचाई अनुसार विभक्त गरीएको छ । पृथ्वीको वेंसीखण्डलाई मध्य मानेर, त्यस भन्दा तलको भागलाई पृथ्वी अधःस्थ लोक भनिएको छ । त्यो भनेको पाताल लोक जस्तै हो । आजभोली त्यसलाई भूमिगत जल भण्डार भनिन्छ । त्याहा जमेकोे पानीलाई आपः भनिन्छ । वेसीं देखी पहाडको टुप्पासम्मको सतहीपानीलाई मर भनिन्छ । पहाडमा फुट्ने मूल अस्थाई भूमिगत जल भण्डारबाट आउने भएकोले त्यसलाई पनि मर अन्तरगत मान्न सकिन्छ । तर पहाडको चट्टानसंग सम्पर्क भएर मूल फुट्ने भएकोले त्यो पानीमा मेघलोकको जस्तो शुद्धता कायम रहदैन । वर्षाको पानीले जत्ति धेरै पहाडको सतह तथा भूमिगत यात्रा तय गर्छ, त्यत्ति नै शुद्धतामा ह्रास हुदै जान्छ । जलसतह, पृथ्वीको सतह तथा विरुवाले उत्सर्जन गरेको पानीको धेरै खण्ड मेघ लोक अथवा प्रकाश लोकमा भौतारी रहन्छ र निश्चित मात्रामा वायुमण्डलीय उष्णता वढे पछि वर्षाको रूप धारण गर्छ । त्यसलाई मरीचि भनिन्छ । मेघ लोकको सतहबाट पनि माथि उडेको पानीमा जीवदायिनी शक्ति हुन्छ । त्यसलाई अम्भ भनिन्छ । अन्नको निमित्त त्यही पानीको महत्त्व हुन्छ । त्यो पानी चिसो वायुमण्डलमा मेघलोकको पानीमा घुलिएर वर्षिन्छ । यस मानेमा पहाडको उचाईमा वर्षिने र हिमनदीको पानीलाइ तुलनात्मक धेरै अमृततत्व भएको मानिन्छ । अमृतको दृष्टिले आकाशगङ्गाको पानीलाई उत्कृष्ट मानिन्छ । आकाशगङ्गाको उपस्थिति द्युलोकमा हुन्छ ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा सहित पूर्व पश्चिम लमतन्न परेको हिमालको शिर भएको हाम्रो देशको धेरै अंश मेघलोकको उपल्लो तहमा पर्छ । हाम्रा चुचुराहरूले मेघलोकको सिमा नाघेर द्युलोकलाई छोएका छन् । त्यसैले हाम्रो देशलाई मरीचिको भूमि पनि भनिन्छ । यसैलाई मत्र्यलोकको स्वर्ग भनिन्छ । हामीले मत्र्यलोकको भन्दा उच्चगुणस्तरको पानीमा उब्जिएको अमृत तुल्य अन्न खाएका छौ । त्यसैले नेपालका साना किसानले उपभोक्ताको स्वास्थमा प्रतिकुल रसायन हालेर उत्पादन गर्न रुचाउदैनन् । हामी कृषियोगीको धर्ममा स्थिर रहन चाहन्छौ । त्यो नै हाम्रो गुणस्तरीय अन्नको प्रमाण जस्तै हुन्छ । हामीलाई गुणस्तरको प्रमाणपत्र लिन आवस्यक पर्दैन । त्यसैको आधारमा हाम्रो अन्न तथा जडिबुटीलाई दक्षिण मत्र्यलोक देशमा पृथक मूल्य प्राप्त भएको छ । अन्नले मात्र नभई हाम्रो पानीले समेत भारतीय बजारमा उच्च मूल्य प्राप्त गर्ने सम्भावना देखिएको छ । पानीको व्यापारमा आधारतहका जनतालाई समावेस गर्न त्यत्ति सजिलो हुदैन । उनिहरूलाई उपभोक्तामैत्री व्यापारको मूलधारमा समावेस गर्न चोखोपानीको आधारमा औषधि गुणस्तरको अन्न उत्पादन गर्ने उद्देश्यले उपयोग गर्न सकिन्छ । पहाडी क्षेत्रका युवाजमातलाई स्वरोजगारी प्रवद्र्धन गर्न यो नै उपयुक्त रणनीति सावित हुनसक्छ ।


पहाडको चोखोपानीलाई उत्पादक उपयोग नेपालको निमित्त प्रतिस्पर्धात्मक व्यापारलाभ लिने सम्भाव्य क्षेत्र हो । तर सिमान्तकृत कृषकलाई पनि औषधि गुणस्तरको अन्न उत्पादन गर्न सहभागी गराउन बजार हस्तक्षेप गर्न सक्ने ठूला लगानी कर्ताको सकृयता लाभदायक हुन्छ । नेपालका मौजुदा लगानीकर्ताहरूले अन्तराष्ट्रिय बजारमा ब्राण्ड जमाएका छैनन् । नेपालको बजारलाई लक्ष राखेर सकृय भएका लगानीकर्ताले निर्यात व्यापारमा योगदान दिन सक्दैनन् । त्यसैले सिमान्त कृषकको हितमा कृषि क्षेत्रमा वैदेशिक लगानीको अनुमति दिन नितान्त आवस्यक थियो । नेपाल सरकारले हालसालै त्यो नीतिलाई अवलम्बन गरेको छ । त्यो नीतिको स्वदेशी लगानीकर्ताले विरोध गर्न सक्छन् । उनिहरूको विरोध भयो भन्दैमा सरकारले साना किसानको अवसर अवरुद्ध गर्न हुँदैन । दुग्धजन्य र कुखुराको व्यापारमा संलग्न व्यापारीको हितमा कृषिको अन्य क्षेत्र अवरुद्ध गर्न हुदैन । दुग्धजन्य र कुखुरा व्यापारीले पनि एक आपसमा मिलेर ठूला प्रशोधन उद्योग स्थापना गरेर बजार प्रतिस्पर्धामा उत्रन यो प्रावधानले बाटो छेक्दैन । स्वदेशी लगानीकर्तालाई पनि विश्वव्यापी प्रतिस्पर्धामा व्यापार गर्न योग्य बनाउन पनि वैदेशिक लगानीलाई प्रोत्साहन गर्नु पर्छ ।
सरकारको लक्षित वर्ग सरकारले उपलब्ध गराउने अनुदान उपभोग गर्ने उद्देश्यले सकृय कृषि व्यावशायी भन्दा साना किसान र उपभोक्ता हुनुपर्छ । त्यसैले गुणस्तरीय नमानिएको भारतीय उत्पादन आयात गरेर स्वदेशी उत्पादनलाई प्रभाव पार्ने व्यापारलाई निरुत्साहित गर्न पनि ठूला र सस्थागत व्यापारीको लगानी प्रवद्र्धन गर्न आवस्यक छ । सरकारको प्राथमिकतामा परेको प्राङ्गारिक कृषिलाई सार्थक बनाउन मूल्यमा प्रतिस्पर्धा गर्न भन्दा गुणस्तरको पृथक मूल्य लिने दिर्घकालिन नीतिमा पनि वैदेशिक लगानी महत्त्वपूर्ण सावित हुन सक्छ ।


वैदेशिक लगानीमा भारतीय व्यापारी मात्र सकृय हुन्छन् र उनिहरूले नेपालको बजारलाई लक्ष गरेर लगानी गर्छन् भन्ने तर्कबाट नेपाल सरकार, उपभोक्ता र साना किसान प्रभावित हुन आवस्यक छैन । विदेशी लगानीकर्ता नेपालको भूढलोट र पानीको गुणस्तरमा उत्पादन गर्न सकिने स्तरीय उत्पादनलाई चिन लगायत दक्षिण एसियाको बजारलाई लक्ष गरेर आउने हुन् । कतिपय कम्पनी वीउ उत्पादनको लक्षमा लगानी गर्ने हुन् । यस उद्यममा भारतीय व्यापारी मात्र नभई विश्वभरी आउटलेट जमाएका कम्पनि आउने हुन् । त्यस्ता कम्पनि अमेरिका तथा युरोपका पनि हुन सक्छन् । अनुसन्धान तथा विकासमा समेत लगानी गर्ने सामर्थ भएका कम्पनीले नेपालमा लगानी गर्दा स्वदेशी विचौलिया प्रवृत्तिका लगानीकर्तालाई असर पर्छ भनेर दिर्घकालिन लक्षलाई निरुत्साहित गर्न हुँदैन । यस्तो लगानीले वेरोजगार बनेका कृषि प्राविधिकलाई पनि अवसर बढने भएकोले पछि हटन हुँदैन । बरु नेपालको पानीको गुणस्तरलाई विश्वव्यापी बनाउने लक्षमा सकृय हुनु पर्छ । आधुनिक विज्ञानले समेत पानीको आईसोटप्स तहमा पुगेर गरेको घनिभूत अनुसन्धान प्रतिवेदनलाई स्तरीय जर्नलमा प्रकाशन गरेर नेपालमा वैदेशिक लगानीको अवसर सम्प्रेषण गर्न सकेमा यो प्रतिस्पर्धा भारतीय कम्पनीमा सिमित नभएर विश्वव्यापी हुनेमा संका गर्नु पर्दैन ।


बसाई सराई नेपालले भोगेको प्रमुख समस्या हो । यो समस्याले शहरको भारबहन क्षमतामा मात्र प्रभाव पारेकोे छैन । गाउँ रित्तो बनाएको छ, खेतवारी बाँझो पल्टाएको छ । कृषि उत्पादनलाई अन्तराष्ट्रिय बजारमा स्थान दिन नसकेकोले नै वैदेशिक रोजगारी रहर भन्दा बाध्यता भएको छ । युवापुस्तालाई गाउ मै रोजगारी दिन कृषि सम्भाव्य पेसा हो । तर साना किसानको पहुँच बजारमा नहुने भएकोले कृषि मूनाफाको क्षेत्र बनेको छैन । कृषि क्षेत्रमा लगानी गर्ने स्वदेशी उद्यमीले यो समस्यालाई सम्बोधन गर्न सक्दैनन् । अनुदानको कृषि सामाग्री कृषकलाई वितरण गरेर पनि समस्याको समाधान हुन सक्दैन रहेछ भन्ने उदाहरण भारतले देखाएको छ । त्यसैले भारतीय कृषिनीतिको अनुशरण गरेर अनुदानमुखी कृषिनीतिले नेपाललाई सम्बृद्ध बनाउन सक्दैन भनेर बुभ्mन नितान्त आवस्यक छ । दिगो कृषि विकासको जग बसाउने हो भने, गाउँफर्क अभियान कार्यान्वयन हुनै पर्छ । त्यस्को निमित्त पनि वैदेशिक लगानीलाई आकर्षण गर्नु पर्छ । त्यस्तो आकर्षणमा नेपालको गुणस्तरीय पानी सहायक सिद्ध हुन्छ । भारतीय बजारमा नेपालको गुणस्तरीय पानी प्रमाणित गर्न माथि उल्लेख गरीएको पानीचक्र उपयोगी हुनसक्छ । नेपालले पानीचक्रलाई वेद, पुराण तथा उपनिषद्को भाषामा व्याख्या गरेमा विश्वका करीव दुई अरव हिन्दु उपभोक्तालाई लक्ष गरेर व्यापारलाभ लिन सक्छ ।

Facebook Comments