किसानहरुलाई स्याउको विरुवा वितरण


निर्भीक नारायण, मुस्ताङ्ग
बजारमुखी स्याउ उत्पादनका लागि सरकारी परियोजना मार्फत उच्च हिमाली उपत्यकाहरुका किसानहरुलाई अभिप्रेरित गर्न स्याउको विरुवा वितरण गर्ने क्रमले गति लिएको छ । गण्डकी प्रदेशका गोर्खा, मनाङ्ग र मुस्ताङ्गका स्याउ किसानका लागि विदेशबाट उच्च गुणस्तरको स्याउको बेर्ना ल्याएर किसानलाई अनुदानमा वितरण गर्न थालिएको हो । हालै कृषी तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालको उपस्थीतिमा मूस्ताङ्गका किसानहरुलाई स्याउको विरुवा वितरण गरिएको छ ।


गत सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङमा किसानहरुलाई स्याउको विरुवा वितरण गर्ने कार्यक्रम आयोजना गरिएको थियो । स्याउ जोन परियोजनाको अनुदानमा वितरण गर्न लागिएको स्याउका बेर्ना वितरण अवसरमा विदेशी विरुवा आयात गर्नू भन्दा सरकारी तवरमा नै देशमा स्याउको बेर्ना उत्पादन र वितरण गर्न किसानहरुले सुझाव दिए ।


कार्यक्रममा किसानलाई गोल्डेन डेलिसियस, रेड डेलिसियस, फुजि, जोनाप्रिन्स, र गाला जातका उच्च घनत्व स्याउको बिरुवा वितरण गरिएको स्याउ जÞोन परियोजनाका प्रमुख सुधिर थापाले जनाएका छन् । परियोजनाले ९ हजार २ सय ३० वटा उच्च घनत्व स्याउका विरुवा विभिन्न फÞर्म, सहकारी, र समुहलाई वितरण गरेको जनाएको छ ।


स्वदेशमा नै स्याउका बेर्ना उत्पादनमा सरकारी सहयोगको अपेक्षा राखेका किसानहरुलाई आश्वस्त गर्दै संघीय मन्त्री अर्यालले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर काम गर्ने भएकाले किसानहरुलाई विश्वस्त भएर काम गर्न आग्रह गरिन् । सरकारले नर्सरी मात्र होईन उत्पादन भएको स्याउको बजारीकरणको पनि व्यवस्था गर्ने मन्त्री अर्यालले प्रतिवद्धता जनाएकी छन् ।

Facebook Comments