कास्कीकोटका कृषकलाई हाते ट्याक्टर वितरण

असल छिमेकी सहयोग संघ (गोनेसा) द्वारा व्यवस्थापन गरिएको जीविकोपार्जन सुधारका लागि कृषि परियोजना अन्तर्गत पोखरा-२४, कास्कीकोटका विभिन्न ३ ओटा कृषक समुहलाई खेतबारी जोत्नको लागि हाते ट्राक्टर वितरण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल, पोखरा महानगरपालिका तथा असल छिमेकी सहयोग संघ (गोनेसा) नेपालको सहकार्यमा संचालित यस परियोजना अन्तर्गत कास्कीकोटका ३ ओटा अदुवा कृषक समुहले संचालन गर्ने गरि उक्त हाते ट्याक्टर वितरण गरिएको हो । त्यहाँका खडगाउँ अदुवा कृषक समूह, मौला भद्रकाली अदुवा कृषक समूह तथा नेपालीटोल एकता अदुवा कृषक समूहलाई ट्याक्टर वितरण गरिएको जानकारी परियोजनाका फिल्ड अधिकृत अनिल बाँस्तोलाले जानकारी दिए ।
उक्त अवसरमा सम्बोधन गर्दै पोखरा-२४, कास्कीकोटका वडा अध्यक्ष ओम प्रसाद सुबेदीले कास्कीकोट कृषि तथा पर्यटनमा अग्रणी वडा रहेको र कृषिसँग सम्बन्धित र कृषक मैत्री कार्यक्रमले कास्किकोटको कृषिको समग्र विकासमा अझ टेवा दिने विश्वास रहेको बताए । सोहि अवसरमा बोल्दै असल छिमेकी सहयोग संघ तथा गैरसरकारी संस्था महासंघका महासचिव रामप्रसाद सुबेदीले कास्कीकोटमा कृषिको प्रशस्त सम्भावना देखेर नै त्यहा अदुवा पकेट विकास कार्यक्रम, कृषक तालिम जस्ता कार्यक्रम संचालन गरिएको र हाते ट्याक्टर वितरण पनि त्यसैको निरन्तरता रहेको बताए । किसानको तर्फबाट बोल्दै अदुवाबाली प्रवर्धन समितिका संयोजक तारापति सुबेदीले कास्कीकोटलाई विषेश प्राथमिकता दिएकोमा परियोजनालाई धन्यबाद दिदै कृषकले पनि सोहीअनुरूप खेति प्रणाली सुधार गरि व्यवसायिकता तर्फ अगाडी बढ्ने बताए ।
कृषकलाई ६ हर्सपावर क्षमताको डिजेल इन्जिन भएको कुबेर ब्राण्डको ट्याक्टर वितरण गरिएको थियो । सोहि अवसरमा ट्याक्टर कृषकलाई ट्याक्टरको संचालन तथा प्रयोग विधि सम्बन्धि तालिम पनि प्रदान गरिएको थियो ।

Facebook Comments