काक्राको बिऊ उत्पादनबाट पनि मनग्यै

महेन्द्र केसी, पर्वत ।
काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ। काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ। मध्य पहाडमा फागुन, चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रो रोपिने गर्दछ। यो धेरै जातका हुन्छन्। तीमध्ये कुनै ४५ दिन भित्र र कुनै ६०६५ दिन भित्र फल्दछ । काँक्रो १२ सेमिदेखि ४५ सेमिसम्म लामो र ५ देखि १५ सेमिसम्म गोलाइ भएको पाइन्छ ।
काँक्रोको बोट कम लहरादेखि बढी लहरा जाने र त्यस्तै हाँगाहरू पनि कम र धेरै हुने पाउँदछन्। पातको फेदबाट त्यान्द्राहरू निस्कन्छन्। यस्को जरा लामो गहिरोसम्म जाने हुन्छ र एउटै बोटमा भाले र पोथी फूलहरू हुन्छन्। यसलाई राम्ररी थाँक्रा दिन सकेमा मात्र राम्ररी फल्छ । साथै काँक्रोको पहिलो मुन्टा चुडिदिएमा धेरै लहरा निस्कन्छ र बढी फल लाग्दछ।
काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ। यसबाहेक यसबाट कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ। यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्मा हुन्छ ।
२ करोडको बीउ उत्पादन
फलेवास नगरपालिका ११ पाङराङ जिल्लाकै उन्नत जातको काँक्राको बीउ उत्पादन हब बनेको छ .मुलुकमै सबैभन्दा बढी काक्रोको बीउ उत्पादन हुने पर्वतको पाङ्गराङ्ग गाबिसलाई काक्रोको स्रोत बीउ उत्पादन केन्द्र बनाइएको छ । काक्रोको बीउ उत्पादन बढी हुने तथा उपयुक्त हावापानी र जागरुक कृषक भएकाले पाङ्गराङ बीउ उत्पादनको हब बनेको हो ।
बीउ उत्पादन गर्नका लागि प्रयोग हुने बीउलाई स्रोत बीउ भनिन्छ । फलेवास नगरपालिका ११ पाङ्गराङ्गको साविक वडा नं ५ र ६ कर्नास गाउँमा विगत डेढ दशकदेखि कृषकले भक्तपुर लोकल जातको काक्रोको बीउ उत्पादन गर्दै आएका छन् । एउटै ठाउँमा सबैभन्दा बढी बीउ उत्पादन हुने भएकाले यसलाई स्रोत बीउ उत्पादन केन्द्रको रुपमा बिकास गरिएको हो ।
ठुलो मात्रामा बीउ अन्यत्रबाट ल्याउनु परेकाले परनिर्भरता बढेको हुँदा बिभिन्न तरकारी बालीको बीउ उत्पादनको बढी संभाबना क्षेत्र भएका ठाउँमा स्रोत बीउ उत्पादन केन्द्र स्थापना गरिएको हो ।
यस वर्ष गत वर्षको तुलनामा कम बीउ उत्पादन भएको स्थानीयले बताएका छन् । असिनाले यस वर्ष क्षति गरेका कारण उत्पादनमा कमी भएको स्थानीय कृषक भगवती पाठकले बताइन ।
असिनाले काक्रोमा क्षति पु¥याएका कारण यस वर्ष उत्पादनमा कमि आउने स्थानीय कृषकहरुले बताएका छन् ।
पाङ्गराङ्गमा अहिलेसम्म नेपालमै सवैभन्दा बढि काक्रो, गोलभेडा र मुलाको बीउ उत्पादन हुँदै आएको छ । १ केजी काक्रोको बीउलाई ब्यापारीले ३ हजार २ सय रुपैयामा खरिद गर्दै आएको नारायणस्थान बीउ उत्पादक सहकारीका अध्यक्ष कमला पाठकले बताइन । दुई करोडको हारहारीमा बीउ उत्पादन हुने अपेक्षा कृषकहरुले गरेका छन् ।