कन्दमूल पाठशालाको ऋषि क्षेत्र अभियान : आघौं देवघाटको वागिश्वरीमा

कुलराज चालिसे

वर्णाश्रमधर्मलाई उच्च प्राथमिकता दिने हिन्दु धर्म सस्कृतिले वानप्रस्थ र सन्यासाश्रममा संसारी कामनाको त्याग गरेर भगवद् चिन्तनमा एकाग्र हुने निर्देश गरेको छ । गृहस्थले गर्नु पर्ने यावत कर्तव्य पालन गरेपछि हकभोगको श्रीसम्पत्तिको धर्माेचित बाँडफाड गरेर हकवालालाई जिम्मा लगाई आफु चाही रित्तोहात तीर्थवासको निमित्त जाने प्रचलनलाई कल्पवास भनिन्छ । यस्तो बास, खान बस्न नपाउने असहाय वृद्धाको आश्रयस्थल होईन । यो त पुगिसरी आएका
वैरागीको वास हो । अरुको हकभोग लाग्ने एक दाना अन्न पनि भोग नलगाउने कल्पवासीको मन र वचन पवित्र हुन्छ । छोराछोरीको दवाव, तीर्थस्थलमा वेदवाक्य व्यापारीको चहलपहल र आप्mनै स्वास्थको अवस्थाले गर्दा आजभोली तीर्थवास जाने मन हुदा पनि कल्पबासको आहार अनुशासन पालन गरेर घरमै बस्ने पनि हुनुहुन्छ । वाहाहरु एकादशी, औसी जस्ता व्रतमा फलाहार मात्र गनुहुन्छ । अन्नको स्थानमा तरुल, गिठा, भ्याकुर, सखरखण्ड, पिडालु आदी वाहाहरुको रोजाईमा हुन्छ । तर बजारमा माघे सक्रान्तिको वरपर बाहेक अन्य दिनमा कन्दमूल पाउनै गाह्रो, पाईहाले पनि चर्काे दाममा किन्न पर्ने भएकोले आजभोली वाहाहरु फापर, गहुँ तथा मकैलाई पनि फलाहार नै मानेर खान बाध्य हुनु भएको छ ।


अर्चावतार श्रीशालिग्रामलाई गर्भमा राख्ने श्रीकृष्णागण्डकी र कालकुटवीषको डाह शान्तपार्न श्रीमहादेवले रोज्नुभएको गोसाईकुण्डको निकास त्रिशुलीको संगम देवधाटको महत्व कल्पवास संगै गाँसिएको छ । पौराणिककालमा नै चक्रवर्ति राजा भरतले कल्पवासको निमित्त यो संगमलाई रोज्नु भएको थियो । मध्यकालमा राजा मुकुन्द सेनले पनि यसै संगमलाई कल्पवासको निमित्त रोज्नु भयो । शाह राज्यकालमा दियालो वङ्गला बनाउनुको उद्देश्यमा पनि कल्पवासी सोच लुकेको थियो । त्यस्ता कल्पवास क्षेत्रमा सत्संगको निमित्त सन्त महन्तको कुटी पनि हुन्थ्यो । पछि सत्संगको निमित्त अन्य सर्वसाधारणले पनि त्यसै क्षेत्रमा कुटी बनाउने चलन आयो । सन्त महन्तले संसारी मोहबाट भाग्न एकान्तमा धुनि जगाउछन् । धुनि जागेपछि धुवाँ पुत्ताउछ । सन्तले भक्त त्याग गरेपनि सत्संगको खोजिमा हिडेका कल्पवासीले त्यस्ता सन्तको साथ छाड्दैनन् र धुनिको धुवा पछ्याउदै उनैको कुटी नजिक आप्mनो पनि कुटी बनाउछन् । देवघाटको विकास यसरी नै भएको हो । कल्पबास नहुदा पनि चितवनमा घरै बसेका धर्मभिरुहरु दिनहु देवघाटस्नानको निमित्त जान नसके पनि ब्रतको दिनमा जान्छन् ।

ऋषि कृषिको पहिलो नेपाली शिलालेख


श्रीकृष्णागण्डकीको जलेश्वर, गलेश्वर, नाङ्गलीवाङ्ग, मोदीवेणी, सेतीवेणी, रुद्रवेणी, रिडी, रामदी, हुँगीघाट, खोरियाघाट, रामघाट, केलादीघाट, आदि स्थानमा देवघाट जस्तै धेरै संख्यामा कल्पवासीको कुटीहरू छन् । सन्सारी तामझामबाट अलग्गिएका त्यस्ता कल्पवासीलाई सन्सारीले गणना गर्दैनन् । मध्यान्नीमा एक छाक सात्विक खाना खाने र एकसरो लुगामा बिताउने कल्पवासीले स्थानीयको व्यापारमा योगदान पनि दिदैनन् ।


भोट हाल्दैनन् र जुलुसमा पनि सहभागी हुदैनन् । जे जस्तो अवस्था आईपरेको छ, अरुलाई दोष नदिएर आप्mनै प्रारब्धको फल मानिदिन्छन् । संग्रह भन्दा त्यागलाई महत्त्व दिने कल्पवासीको निमित्त तीर्थस्नान र नामसंकिर्तन नै अभिष्ट लक्ष हुन्छ । नियमित गङ्गास्नान, जप, तप, पूजा, अर्चना गर्ने उनिहरूको पाईला भगवद्नाम संकृतन् तथा सत्संगमा बाधा पुग्ने मार्गमा कुमार्गमा चल्दैन ।
कल्पवासीको निमित्त सबैभन्दा सम्बेदनशील विषय गङ्गास्नान र भोजनमा शुद्धता हुन्छ । दामोदरकुण्ड, गोसाईकुण्ड आदि पवित्र तीर्थस्थलमा सधै जान सकिदैन । त्यस्ता पवित्र कुण्डको जल एकतृत रूपमा प्राप्त गर्न वेणी वा त्रीवेणी संगम उनिहरूको रोजाई हुन्छ । वृद्धावस्ताको गङ्गास्नान भएकोले तिव्रधार भन्दा मन्दगतिको फराकिलो गङ्गामा उनिहरूको आकर्षण हुन्छ । शाम्भवी त्रिशुली र शालिग्रामी गङ्गाको संगमलाई उनिहरूले उच्च प्राथमिकता दिन्छन् । त्यसैले देवघाट कल्पवासीको पहिलो रोजाई भएको छ ।
देवघाटमा धेरै मठमन्दिरहरू छन् । यस तीर्थको विषयमा कृति प्रकाशन गर्ने पनि धेरै छन् । साना ठूला धेरै सन्त महन्तको आश्रम छन् । धेरै गुरुकुल पनि संचालनमा छन् । देशको कुना कुनाबाट धेरै बटुकहरू वेद्विद्या आर्जन गर्न आएका छन् । तीर्थयात्रामा आउने जानेको भिड पनि ठूलै हुन्छ । एक प्रकारले देवघाट देशको अध्यात्मिक राजधानी हो । तीर्थालु, विद्यार्थि र सन्तको माध्यमले देशको कुना कुनाको समाचार याहा आउँछ भने याहाको समाचार पनि कुना कुना सम्म पुग्छ । देवघाट जाग्दैन, जाग्यो भने देश नै हल्लिन्छ । देवघाटको महत्त्व बनाई राख्न याहाका मठ मन्दिर र सन्त महन्त भन्दा गोसाईकुण्ड र दामोदरकुण्डको संगमको योगदान रहेको छ । संगम भएकोले नै त्याहा यि सबै छन् ।

देवघाट


देवघाटमा कल्पबास गर्ने भक्त भौम तथा जङ्गम् तीर्थका संगम हुन् । कल्पबासीले प्राथमिकता नदिएको भए, मठ, मन्दिर, गुरुकुलादि केही पनि देवघाटमा हुने थिएनन् । वैष्णवी र शाम्भवी गङ्गाको संगममा भौम तथा जङ्गम् तीर्थको संगम कायम राख्न कल्पवासीको योगदान छ । उनिहरूको अटल विश्वासमा नै देवघाटको अस्तित्त्व अडिएको छ । कल्पबासीलाई बेलाबेलामा भेटनजाने उनिहरुका परिवारले लैजाने पाहुरमा कन्दमूल प्राथमिकतामा पर्छ ।
कल्पबासीका परिवारजन सकेसम्म सक्रान्ति, एकादशी, औसी जस्ता पर्व पारेर भेटन जान्छन् र आफुले पनि कल्पबास आहार अनुशासनको पालन गर्छन् । माघको स्वस्थानी व्रत लिने कतिपय महिला त महिना भरी नै देवघाट मै बसेर पूजा गर्छन् । मकरस्नानको निमित्त आउने तीर्थयात्रीको भिड त उल्लेखनीय नै हुन्छ । यातायातको असुविधा हुँदा देवघाटमा तीन दिनको मेला लाग्थ्यो । आजभोली एकै दिन लाग्छ, तर अधिराज्यबाट बस रिजर्भ गरेर जाने धेरै नै हुन्छन् । तिनिहरु सवैले पाएसम्म कन्दमूल फलाहार गर्छन् । त्यसैले वरपर गाउँका किसानहरु अघिल्लो दिन राती उसिनेको कन्दमूल सालको टपरीमा बेच्न बस्छन् । देवघाटमा कन्दमूलको बोट नभएको घर सायदै होलान् ।
ऋषिकृषिको अभियान सुरु गर्न हामीलाई वागिश्वरीधाम देवघाटमा योगी नरहरिनाथःले राख्नु भएको शिलालेख र वाहाको ऐतिहासिक शिखरिणीयात्रामा उल्लेखित वैदिक साम्यवादले प्रेरणा दिएको थियो । दुईवर्ष अगाडी ऋषिकृषि वहसको प्रथम विचारमा नै उक्त शिलालेख छापेका थियौ ।
त्यसै वहसले हामीलाई पोहोरसाल ढुङ्गेसाँघुमा कुनै प्रकारको सरकारी सहयोग नलिई कन्दमूल प्रदर्शनी गर्न लगायो । हाम्रो कामबाट प्रभावित भएर पोखरा महानगरपालिकाले हरिहर मन्दिर हातामा कन्दमूलको नमुना प्रजातीहरु संकलन गरेर रोप्न मन्दिर व्यवस्थापन समितिलाई आर्थिक सहयोग प्रदान गर्याे । हामी उत्साही भएर विभिन्न जिल्लाबाट भतौरा संकलन गरेर रोप्यौ । कृषि अनुसन्धान परिषदबाट सखरखण्ड र पिडालुका प्रजातीहरु पायौ । यसवर्ष पोहोरको भन्दा राम्रोसंग प्रदर्शन गर्याै । पोहोर सहयोग गर्न सक्षम नभएको प्रदेश कृषि मन्त्रालयले प्रदर्शनीको निमित्त आर्थिक सहयोग गर्याे । कृषि अनुसन्धान परिषद, पोखरा वागवानी केन्द्रले त आकर्षक प्रदर्शनी पनि गर्याे । समयमा नै सम्पर्क राख्न नसकेकोले प्रदेश कृषि निर्देशनालयले आर्थिक सहयोग गर्न सकेन तर दिनभरी प्रदर्शनीस्थलमा बसेर प्रतियोगी कृषक मूल्याङ्कन गर्न सघायो । आगामी वर्षको माघेसक्रान्ति मेलाको अवसरमा कन्दमूल प्रदर्शनी गर्न प्रदेश मन्त्रालय र प्रदेश निर्देशनालय दुवै तत्पर भएका छन् ।

त्यसैले आगामी वर्ष कम्तिमा पनि पाँच ठाउमा कन्दमूल प्रदर्शन गर्ने अठोट हामीले गरेका छौ । विश्वविद्यालयमा प्राध्यापनरत प्राज्ञहरुले अनुसन्धानमा हामीलाई सघाउने वचन दिनु भएको छ । यो अवसरलाई हामी गुमाउन चाहदैनौ । जुन शिलालेखले हामीलाई ऋषिकृषि वहस चलाउन प्रेरणा दियो, त्यसै शिलालाई केन्द्रमा राखेर आगामी वर्षको प्रदर्शनी सुरु गर्ने विचार गरेका छौ । त्याहावाट कृषि तथा वन विश्वविद्यालयको केन्द्रिय क्याम्पस रामपुर टाढा छैन । उक्त क्याम्पसमा लगभग सवै जिल्लाबाट विद्यार्थी आएका हुन्छन् । वागिश्वरीको प्रदर्शनीमा रामपुर क्याम्पसबाट स्वयंसेवक सहभागी बनाई ऋषिकृषि र कन्दमूल अभियानलाई देशैभरी फैलाउने छौ भन्ने आसा राखेका छौ । हाम्रो अभियानमा तपाई पनि साझेदारी गर्न चाहनुहुन्छ भने हामी स्वागत गर्न आतुर छौ । कल्पवासीको सेवाको साथमा तीर्थयात्री र विद्यार्थीको माध्यमले देशैभर ऋषिकृषिको सन्देश प्रवाह गर्न हामीलाई तपाईको समर्थन चाहिएको छ । यो कार्यक्रमले नेपालीको मौलिक कृषि सस्कृतिलाई बजारको मूलधारमा स्थापित गर्न सहयोग गर्ने छ । जलवायु परिवर्तनले खाद्य सुरक्षालाई चुनौति दिएको अहिलेको अवस्थामा कन्दमूल सस्कृतिलाई जीवन्तता दिनु हामी सवैको कर्तव्य हो ।

Facebook Comments