एक गाउँ एक पशु प्राविधिक प्रवर्धन गरिदै

कृष्ण आले, लमजुङ ।

 विगतमा एक गाउँ एक कृषि कार्यकर्ताका रुपमा कृषि जनशक्तिको सघन परिचालन गरि कृषि प्रसारमा योगदान पुर्याउने लक्ष राखेर अभ्यास गरिएको ग्रामिण कृषि कार्यकर्ता परिचालनको अभ्यास सिथील भएपनि गण्डकी प्रदेशमा फेरी ‘एक गाउँ एक पशु प्राविधिक’ पहुँच विस्तार गर्ने रणनिति ल्याउन लागिएको प्रादेशिक कृषि मन्त्री लेखबहादुर थापामगरले बताएका छन् । पशुपंछी रोग अन्वेषण प्रयोगशाला पोखराको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा हालै बेसीसहरमा गरिएको एक कार्यक्रममा सम्बोधनका क्रममा मन्त्री थापा मगरले सो कुरा  बताएका हुन् ।

मन्त्री थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी बढेको चर्चा गर्दै ‘एक गाउँ एक पशु प्राविधिक’ सेवा सञ्चाल गरी कृषि र पशुपालनमा प्रदेश सरकारले कृषकको पक्षमा पहल गरेको बताए । सो अवसरमा मन्त्री थापामगरले मन्त्रालयको आर्थिक सहयोगमा टुल बक्स, पोर्सप, कैची, माइक्रोसप, सेन्ट्रिफ्युजलगायतका आवश्यक उपकरणहरु गाउँगाउँमा रहेर सेवा प्रवाह गरिरहेका पशु प्राविधिकहरुलाई वितरण गरेका थिए । लमजुङका २४ र मनाङका ६ जना भेटेरिनरी प्राविधिकहरुलाई उक्त उपकरण वितरण गरिएको भेटेरिनरी अस्पताल लमजुङका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताए ।

उनका अनुसार पशु प्राविधिकहरुलाई ११ लाख ७५ हजार  रुपैयाँ बराबरको उपकरण गरिएको छ । उपकरणको प्रयोगबाट पशुबाट मान्छेमा सर्ने ७३ प्रतिशत रोगहरुमा कमी आउने पशु चिकित्सक नारायण कुसुमले बताए ।

Facebook Comments