ऋषिकृषि पद्धत्तिमा अन्तराष्ट्रिय भर्चुअल छलफलले दिएको सन्देश

कुलराज चालिसे

गत कार्तिक १ गते, कृषि र अध्यात्मको अन्तरसम्बन्ध केलाउन चासो राख्ने मध्येका करीव ४० जना विद्युतीय छलफलमा जुटेका थियौ । त्यो भन्दा अगाडी भदौमा साहित्यमा चासो राख्ने रामपुरका उत्पादनले भच्र्युअल कविता वाचन गर्ने क्रममा कृषि र अध्यात्मको अन्तरसम्वन्धमा रचना भएको कविताले घटस्थापनाको दिन नै यो कार्यक्रम आयोजना गर्ने वातावरण बनाएको रहेछ । कार्यक्रममा सहभागी प्राय सवैको औपचारीक शिक्षामा उपल्लो तह पार गरेर अनुसन्धान तथा नीतिनिर्माणमा योगदान दिनसक्ने हैसीयत थियो । उक्त कार्यक्रम उपर सम्पादक रामचन्द्र बरालजीले अघिल्लो अंकमा नै कृषि समाज शास्त्रको रचना गर्भका सन्दर्भमा उल्लेख गरिसकेका छन् । प्रमाणको निमित्त उक्त कार्यक्रमको विद्युतीय रेकर्ड दस्तावेजको रूपमा सुरक्षित गरी राखीएको छ । याहाँ उक्त विद्युतीय छलफलको निश्कर्ष निचोर्ने काम मात्र हुनेछ ।
— कृषि विज्ञानका दक्षजनशक्ति उत्पादन गर्न राज्यको साथमा हाम्रा अभिभावकले थुप्रै लगानी गरेकाछन् । हामीले पनि केहि सिक्यौ । तर कृषि उत्पादनको वर्तमान स्थिति र ह्रासोन्मुख खाद्यसस्कृति तथा कृषिजैविकविविधताले हाम्रो विज्ञतामा प्रश्न उठाएको छ । कतै हामीले कृषिसंग सम्बन्धित पुस्तौली अभ्यास तथा धर्मसस्कृतिका महत्त्वपूर्ण पाटोलाई वेवास्ता गरेका त छैनौ भनेर महसुस ग¥यौ ।
— कृषि उत्पादनलाई सन्तुलन गर्न विज्ञान तथा प्रविधि मात्र प्रयाप्त हुँदैन रहेछ । प्रविधि संगसंगै कृषि समाजशास्त्र र बजारशास्त्रलाई केन्द्रमा राखेको व्यवस्थापनशास्त्रको ज्ञान पनि आवस्यक हुने महसुस ग¥यौ ।
— ऋषिकृषि, वैदिककृषि, योगिककृषि वा शास्त्रीयकृषि जे भनेपनि हाम्रो धर्मसस्कृतिले कृषिलाई सीतायज्ञको दर्जा दिएकोले नाफाघाटा भन्दा याज्ञिककर्मको दृष्टिले कृषियज्ञलाई निरन्तरता दिईन्थ्यो । तिनिहरूमा प्रविधि भन्दा पद्धत्तिलाई प्रधानता दिईएको थियो । त्यहा कृषि विज्ञान तथा प्रविधि भन्दा प्रविधि विस्तारको रणनीति धेरै देखिन्छ । त्याहा विज्ञान तथा प्रविधिलाई धर्मपरम्पराको उपमा दिएर स्वतः उत्प्रेरणको लक्ष राखिएको हुन्थ्यो । प्राविधिक दक्षता अध्यावधिक गर्ने नाममा हामीले कृषिपद्धत्ति उपर जमेको त्यै जनविश्वासलाई अध्यावधिक गर्न नसकेकोले खेतवारी बाँझो रहन गएको छ । लोकतन्त्रको नारा छ, पृथ्वीलाई कित्ताकित्तामा विभक्त गरेर लालपुर्जा बाँडीएको छ । अनि जमिनलाई स्थीरसम्पत्ति भन्दा पनि अब्बल दर्जाको गाडधन बनाईएको हुनाले धर्तिको समुचित स्याहार पुग्न सकेको छैन । यतिवेला कृषियज्ञ सम्मानित हुन सकेको छैन । जमिन उपर व्यक्तिको स्वामित्त्व कायम राख्दै कृषि उत्पादन कार्यमा सदुपयोग गर्ने हो भने ऋषिकृषि अवधारणा पूनस्थापन गर्न आवस्यक छ ।
— अक्षाशं, देशान्तर र उचाईको त्रिवेणी हरेक ठाउँमा फरक हुन्छ । त्रिवेणी अनुसारको भूउपयोगको धर्म पनि फरक हुन्छ । कुनै एक ठाउँमा अवलम्वन भएको कृषि पद्धत्ति अर्काे ठाउमा हुबहु लागु हुँदैन । यस मानेमा कृषि प्रविधिमा दिईने उच्चशिक्षाले प्रविधिको सैद्धान्तिक आधार मात्र दिनसक्छ, । कुनै निश्चित त्रिवेणीमा कुन पद्धत्ति अवलम्वन गर्ने भन्ने एकिन गर्न त्यसैठाउँको पञ्चतत्वसंग वार्ता नै गर्न सक्नु पर्छ । त्यस्तो वार्ता गर्ने विधा औपचारीक शिक्षाबाट प्राप्त गर्न सकिदैन । आधुनिक कृषिका प्रकाशनको कुरै छाडौ, कृषिपाराशर, काश्यपीयकृषिसूक्ति, वृक्षआयुर्वेद जस्ता कृषि वार्ताको निमित्त लेखिएका शास्त्रहरुले पनि त्यस्को सहज उत्तर दिन सक्दैनन् । त्यस्को उत्तर पाउन कृयात्मक र पुस्तौली अनुसन्धानको नै आधार लिनु पर्छ । यसमानेका शास्त्रीयकृषिपद्धत्ति पनि अनुसन्धानको दायरामा समावेस गरेर देश र काल अनुसार परिमार्जन गर्नुपर्छ ।
— सातसालको राजनैतिक परीवर्तनको तत्कालै धेरै मित्रराष्ट्रका विभिन्न निकायहरू नेपालमा सकृय भएका हुन् । लगभग ९० प्रतिशत नेपाली निर्वाहमुखी कृषिको जगमा जीवन धानेका तथ्याङ्क सार्वजनिक भएको थियो । उनिहरूले नेपालको तात्कालिन समस्याको समाधान त्यही निर्वाहमुखी कृषिमा खोजेका थिए । त्यसैले कृषि उनिहरूको प्राथमिकतामा पथ्र्यो । त्यो भनेको हाम्रो परम्परागत कृषि प्रविधि मात्र नभई पद्धत्तिलाई अनुसन्धानबाट प्रमाणिक भएका आधुनिक कृषि प्रविधि तथा पद्धत्तिले विस्थापन गर्नु नै उनिहरूको प्रमुख लक्ष्य थियो । त्यसैको निमित्त हामीले कृषि प्रविधिलाई औपचारीक शिक्षामा समावेस गरेका थियौ । विद्युतीय छलफलमा सहभागी हामी मध्य धेरै, त्यै शिक्षाका उपज थियौ । त्यसैले नेपालको पाठ्यक्रममा समेटन नसकीएको ऋषिकृषि पद्धत्तिमा हाम्रो चासो त थियो, तर ज्ञाता थिएनौ । औपचारीक कृषि शिक्षाको उपल्लो तहमा पुगेर पनि स्वयंमा अपूर्ण महसुस गरेका थियौ र राणाकाल भन्दा अगाडीको कृषि पद्धत्तिमा विज्ञानको छायाँ खोज्ने प्रयास गरेका थियौ ।
— साविकको परम्परागत कृषि पद्धत्ति र आधुनिक कृषि प्रविधिमा तुलना गर्ने उद्देश्य विद्युतीय भेलाले गरेको थिएन । हामीलाई नेपाली हावापानी र माटो सुहाउदो कृषि विकासको दिगो उपाय पहिचान गर्नु थियो । याहाको खाद्यसस्कृतिलाई निरन्तरता दिदै उत्पादन वृद्धि गराउनु थियो । त्यो भन्दा वढी वैदेशिक रोजगारीमा आकर्षित भएका युवापुस्तालाई स्थानीय श्रोत र परम्परागत सीपमा आधारित रोजगारीको विकल्प पहिचान गर्नु थियो । त्यसैले ऋषिकृषि पद्धत्तिलाई कृषिपर्यापर्यटनमा आवद्ध गर्न सकिने वा नसकिने भनेर विचारविमर्श गरेका थियौ ।
— विद्युतीय छलफलका सहभागीले यो विषयमा एकै चरणको छलफल प्रयाप्त नहुने महसुस गरेको थियो र चरणवद्ध छलफलको आवस्यकता महसुस गरेको थियो । छलफल अनौपचारिक थियो । तर सहभागीहरू कुनै न कुनै सस्थासंग आवद्ध थियौ । नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशकले समेत सहभागीता जनाउनु भएको यो छलफललाई अव औपचारीक स्वरूप दिन आवस्यक महसुस गरीएको छ ।
— यो विषयवस्तुलाई २०७४ साल देखि नै खोजपाठशालाले वहसमा ल्याएको हो । आरसी टाईम्सले नियमित प्रकाशन गरेको यो वहसलाई औपचारिकता प्रदान गर्न अव शिलशिलावद्ध र औपचारिक वहसमा प्रवेश गर्न आवस्यक देखिएको छ । यो पद्धत्तिलाई अन्तराष्ट्रिय वहसमा समेत प्रवेश गराई कृषिपर्यापर्यटनमा केन्द्रिय आकर्षणमा स्थापित गर्न औपचारिक र प्राज्ञिक छलफलमा प्रवेश गराउन खोजपाठशालाको प्रयासमा मात्र पूर्ण हुन कठिन हुन्छ । त्यसैले अष्टज अन्तराष्ट्रिय समितिको प्रकाशन उपसमितिले सस्थागत सहभागीतामा अन्तराष्ट्रिय, औपचारिक र प्राज्ञिक वहसको समन्वय गरेर जरनल प्रकाशनको पहल गर्न सके अत्यन्त राम्रो हुन सक्थ्यो ।
— यो विषयलाई स्थलगत र कृयात्मक अनुसन्धानमा प्रवेश गराउन पनि आवस्यक छ । नेपाल कृषि अनुसन्धान परिषद कि काउन्सिल सदस्य पनि उक्त अनौपचारिक छलफलमा सहभागी भएको अवस्था हो । कृषि मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरू समेत सहभागी भएको त्यो छलफलले ऋषिकृषि पद्धत्तिलाई सम्भाव्य विकल्प स्वीकार गरेको छ । कृषि अनुसन्धान परिषदको वार्षिक कार्यक्रममा यो विषयलाई प्रवेश गराउने प्रारम्भिक चरण पूरा भएको छ । आसा छ, काउन्सिल वैठकमा यो विषयले विधिवत् प्रवेश पाउने छ ।
खोजपाठशालाले २०७४ सालमा उठान गरेको अनुसन्धान प्रश्नको अनौपचारिक वैठान सम्पन्न भएको जस्तै भएको छ । त्यतिवेला नेपालको पहाडी परिवेशमा ऋषिकृषि पद्धत्तिलाई कसरी कार्यान्वयन गरीएको छ ? भनेर सूचना सङ्कलन गरी प्रकाशन गर्ने र सरकारी निकायलाई उक्त विषयमा कृयात्मक अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्य राखीएको थियो । यो सफल भएको छ । अव आयोजना हुने औपचारीक छलफलमा सकृय सहभागीता जनाउन खोजपाठशालासंग प्रयाप्त सूचनाहरू सङ्कलन भएका छन् । उक्त सूचनाहरु आरसी टाईम्समा प्रकाशन भएका पनि छन् । हामी उक्त सूचनाहरू प्रस्तावित औपचारीक वहसमा साझा बनाउन तत्पर छौ । नेपाल नीति अनुसन्धान प्रतिष्ठानसंग यो विषयलाई संयोजन गर्ने जनशक्ति नभएको हुनाले कार्यकारी निर्देशकले अष्टज अन्तराष्ट्रिय समितिबाट नै यस्को पहल होस् भन्ने आसय व्यक्त भएकोले अष्टज अन्तराष्ट्रिय समितिको प्रकाशन उपसमितिले कृषि अनुसन्धान परिषदलाई समेत सहभागी गराई औपचारिक अनुसन्धानको पहल गर्ने छ भन्ने आसा गरेका छौ ।

Facebook Comments