आर्वा र अर्मलामा प्राङ्गारिक कृषक पाठशाला

पोखरा,
संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम नेपाल तथा पोखरा महानगरपालिकाको संयुक्त आर्थिक साझेदारीमा असल छिमेकी सहयोग संघद्वारा संचालन गरिएको जीविकोपार्जन सुधारका लागि कृषि परियोजनाद्वारा पोखरा—१३, आर्वा तथा पोखरा—१६, हरिपाउमा स्थानिय कृषक समुहको समन्वयमा प्राङ्गारिक कृषक पाठशाला स्थापना गरि संचालनमा ल्याइएको छ । आर्वा र हरिपाउलाई प्राङ्गारिक कृषिमा अग्रसर बनाई प्रमाणित प्राङ्गारिक उत्पादन बजारमा ल्याउने उदेश्यले परियोजनाले उक्त दुई क्षेत्रमा प्राङ्गारिक खेति प्रविधिको प्रदर्शनी तथा सिकाइ केन्द्रको रुपमा कृषक पाठशाला स्थापना गरेको परियोजनाका कार्यक्रम संयोजक धन बहादुर रानाले जानकारी दिएका छन् ।


प्राङ्गारिक पाठशाला स्थापना गरिएको दुवै स्थान भौगोलिक हिसाबले प्राङ्गारिक खेतीको लागि उपयुक्त भएको तथा स्थानीय कृषक प्राङ्गारिक उत्पादनमा सक्रिय रुपमा आकर्षित भएको अवस्था हुनाले यस कार्यक्रम सफल हुने परियोजनाको विश्वास रहेको छ । उक्त पाठशालामा किसानलाई प्रांगारिक खेती गर्न आवश्यक सिप, सामग्री तथा प्रविधिको प्रदर्शनी संगै तालिम दिइनेछ । यस अन्तर्गत झोलमोल बनाउने, प्राङ्गारिक मलको उचित प्रयोग गर्ने, रोगकिराको रोकथाम गर्ने, गरेलु विषादीको प्रयोग गर्ने, लगायतका सिप किसानलाई सिकाइनेछ ।


कोरोना भाइरसको महामारीको वर्तमान परिस्थितिमा समाजका विपन्न एवं पिछडिएको वर्गलाई सामाजिक—आर्थिक रुपमा पलायन हुन नदिने मुख्य उदेश्यले संचालन गरिएको यस परियोजनाले जीविकोपार्जन सुधारका कार्यक्रमलाई महानगरपालिकाका अन्य वडामा पनि विस्तार गर्दै जाने फिल्ड अधिकृत बाँस्तोलाले जानकारी दिए  ।

Facebook Comments